बिधुत्मा रैका,
कोहलपुर, असार २६,
बर्दियाको ग्रामीण क्षेत्रमा पछिल्ला वर्षहरूमा महिलाहरूको जीवनशैली र सोचमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। घरधन्दामा सीमित मानिने महिलाहरू अहिले आयआर्जनका गतिविधिमा सक्रिय बन्दै आफ्नै व्यवसाय सञ्चालन गर्ने दिशामा अघि बढिरहेका छन् । कृषि, पशुपालन र साना उद्यममार्फत आत्मनिर्भर बन्ने प्रयासले स्थानीय स्तरमै रोजगारी र आर्थिक सशक्तीकरणको नयाँ सम्भावना सिर्जना गरिरहेको छ ।

एक समय घरायसी प्रयोजनका लागि मात्रै बाख्रा पाल्ने मधुवन नगरपालिका–१ की माला सुनार अहिले त्यसलाई आयआर्जनको माध्यम बनाइसकेकी छन् । उनी भन्छिन्,–’…पहिले बाख्रापालन घरको आवश्यकतामा मात्रै सीमित थियो । व्यावसायिक रूपमा अघि बढाएपछि परिवारको आर्थिक अवस्थामा सकारात्मक सुधार आएको छ ।’ बर्दियाको अर्थतन्त्र अझै कृषि र ज्यालामजदुरीमा आधारित छ । सीमित रोजगारीका अवसरका कारण धेरै युवायुवती वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका बेला केही महिलाहरू भने आफ्नै गाउँमा बसेर व्यवसायमार्फत भविष्य निर्माण गर्ने प्रयासमा छन् ।


ठाकुरबाबा नगरपालिका–३ की सिर्जना थारु बङ्गुर पालन व्यवसायमा सक्रिय छिन् । पाँच वटा बङ्गुरबाट सुरु गरेको उनको यात्रा विस्तार हुँदैछ । ‘मैले चैत महिनादेखि बङ्गुर पालन सुरु गरेकी हुँ । अब यसलाई व्यवस्थित र व्यवसायिक रूपमा विस्तार गर्ने योजना बनाएकी छु,’ उनी भन्छिन् । सीमित स्रोतसाधनका बीच सुरु भएको उनको प्रयासले भविष्यप्रति नयाँ आशा जगाएको छ । उनको संघर्ष केवल व्यवसायसँग जोडिएको छैन, जीवनसँग जोडिएको छ । केही वर्षअघि उनका श्रीमान प्यारालाइसिसका कारण थलिन पुगे । एक समय परिवारको मुख्य आम्दानीको स्रोत रहेका श्रीमान ओछ्यानमा सीमित भएपछि घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । सानो छोरीको पालनपोषण, श्रीमानको उपचार, घरखर्च र दैनिक जीविकोपार्जन, सबै जिम्मेवारी उनले एक्लै सम्हाल्दै आएकी छन् । आर्थिक अभावले कतिपय दिन औषधि किन्नसमेत समस्या भएको उनी सम्झिन्छिन् । परिवारका केही सदस्यबाट अपेक्षित साथ र सहयोग नपाउँदा उनको पीडा झन् बढ्यो । धेरै पटक यस्तो अवस्था आयो, जहाँ अब कसरी अगाडि बढ्ने भन्ने नै थाहा हुन्नथ्यो । आफ्नो जीवनका ती कठिन दिनहरू सम्झँदा उनी पटक–पटक भावुक भइन् । कुराकानीकै क्रममा उनका आँखा रसाए, घाँटी अवरुद्ध भयो । वर्षौंदेखि मनभित्र थुप्रिएका पीडा शब्दमा व्यक्त गर्न खोज्दा उनी धेरैपटक रोकिन बाध्य भइन् । उनको स्वरमा पीडाभन्दा बढी आशा सुनिन्छ । किनभने उनले हार मानेकी छैनन् । कुखुरा पालनलाई व्यवस्थित बनाउँदै आफ्नो परिवारलाई आत्मनिर्भर बनाउने अठोट बोकेकी छन् । श्रीमानको नियमित उपचार, छोरीको पढाइ र परिवारको भविष्य सुरक्षित गर्ने सपना अझै जीवित छ । दुःखका पहाडबीच पनि उनी आशाको दियो निभ्न दिएकी छैनन् । जीवनले बारम्बार परीक्षा लिँदा पनि मिरा संघर्षबाट पछि हटेकी छैनन् । बरु हरेक कठिनाइलाई पार गर्दै उनी आफ्नो परिवारका लागि बलियो आधार बन्ने प्रयासमा छिन् । उनको कथा केवल एक महिलाको कथा होइन, प्रतिकूल परिस्थितिसँग जुधिरहेका हजारौं नेपाली महिलाको प्रतिनिधि कथा हो ।


यस्तै ठाकुरबाबा नगरपालिका–४ की मिरा थारुले कुखुरा पालन गर्दै आएकी छन् । व्यवसाय गरिरहे पनि आवश्यक प्राविधिक जानकारीको अभाव महसुस गरिरहेकी थिइन् । ‘काम त गरिरहेकी थिएँ, तर व्यवसायलाई कसरी व्यवस्थित बनाउने भन्ने ज्ञान कम थियो’ उनी भन्छिन्, ‘अहिले व्यवसायलाई फरक दृष्टिकोणबाट हेर्न थालेकी छु ।’ ठाकुरबाबा नगरपालिका–५ की कल्पना थारु पनि बङ्गुर पालनलाई व्यवसायिक रूपमा विस्तार गर्ने तयारीमा छिन् । उनका अनुसार स्थानीय स्तरमै सम्भावना खोज्दै अघि बढ्ने आत्मविश्वास बढेको छ । अनु थारुले पनि आफ्नै व्यवसाय सुरु गर्ने लक्ष्य राखेकी छन् । ‘आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ,’ उनी बताउँछिन् । उद्यमी बन्ने सपना बोकेकी मिलरानी थारुको कथा झन् प्रेरणादायी छ । सुरुमा सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्न हिच्किचाउने उनी अहिले आत्मविश्वासका साथ बोल्न सक्ने भएकी छन् । नयाँ सीप र जानकारीले अगाडि बढ्ने साहस दिएको छ । यता ठाकुरबाबा नगरपालिका–५ की ममता चौधरी बङ्गुर पालनसँगै तरकारी खेतीबाट आम्दानी गरिरहेकी छन् । कृषिसँग जोडिएका कामलाई व्यवस्थित बनाएर अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको उनले बताईन् ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । बर्दियाका धेरै महिलाहरू अहिले कृषि, पशुपालन, साना व्यवसाय र उद्यममार्फत आर्थिक रूपमा सक्षम बन्ने प्रयासमा छन् । चुनौतीहरू अझै छन् । पूँजीको अभाव, बजार पहुँचको कठिनाइ र प्राविधिक ज्ञानको कमी, तर अवसर र उचित मार्गदर्शन प्राप्त भएमा गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् । विशेषज्ञहरूका अनुसार उद्यमशीलता केवल आम्दानीको माध्यम मात्र होइन, सामाजिक रूपान्तरणको आधार पनि हो । महिलाहरू आर्थिक गतिविधिमा जोडिँदा परिवारको जीवनस्तर सुधारिनुका साथै स्थानीय अर्थतन्त्र पनि सबल बन्दै जान्छ । बर्दियामा महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै आत्मनिर्भर, नवप्रवर्तनशील र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । संस्थाहरूको विश्वास छ कि महिलाको आर्थिक सशक्तीकरणले केवल एक व्यक्तिको जीवन मात्र होइन, परिवार र समुदायको समग्र विकासमा समेत योगदान पु¥याउँछ । महिलाहरूलाई बाख्रापालन, बंगुरपालन, कुखुरापालन र तरकारी खेतीजस्ता परम्परागत उद्यमसँगै आधुनिक प्रविधिको प्रयोग, मोबाइलमार्फत बजारको जानकारी लिने, सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचार–प्रसार गर्ने, डिजिटल माध्यमबाट ग्राहकसँग सम्पर्क बढाउने र व्यवसायलाई दिगो तथा प्रतिस्पर्धी बनाउने सीपसमेत सिकाइएको छ। यसले ग्रामीण महिलाहरूलाई स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आफ्नै गाउँमै आत्मनिर्भर बन्न र आम्दानी वृद्धि गर्न थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

परियोजनाका संयोजक राजेश कुमार खड्काले महिलाको आर्थिक सशक्तीकरणलाई दिगो विकाससँग जोडेर हेर्नुपर्ने बताए । महिलाहरूलाई केवल तालिम दिएर छोड्ने होइन, उनीहरूलाई आत्मनिर्भर उद्यमीका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए । ठाकुरद्धारा र मधुवनका १ सय जना महिलाहरुलाई उद्यमी बनाउँने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे । उनका अनुसार स्थानीय स्रोत, सीप र सम्भावनालाई उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतामा जोड्न सके ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ । बर्दियामा देखिएको यो परिवर्तनले ग्रामीण महिलाहरूको क्षमता, आत्मविश्वास र सम्भावनालाई उजागर गरेको छ । साना प्रयासबाट सुरु भएका यस्ता उद्यमहरू भविष्यमा स्थानीय विकास र आर्थिक समृद्धिका महत्वपूर्ण आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।
