कोहलपुर, साउन ५,
संयुक्त राष्ट्रसंघीय सैनिक पर्यवेक्षक प्रशिक्षक प्रशिक्षणको दोस्रो संस्करण सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघको शान्ति कार्य सञ्चालन विभाग अन्तर्गतको एकीकृत तालिम सेवाले पाकिस्तानको सहकार्यमा ८ देखि १९ जुन २०२६ सम्म इस्लामाबादमा संचालन भएको थियो । तालिममा बङ्गलादेश, इजिप्ट, जर्मनी, घाना, केन्या, नेपाल, पाकिस्तान र जिम्बाब्वेका आठ सदस्य राष्ट्रका २० जना सैनिक अधिकृत सहभागी भएका थिए । सहभागीमध्ये पाँच जना महिला थिए, जसले कुल सहभागिताको २५ प्रतिशत हिस्सा ओगटेका थिए।
परिमार्जित संयुक्त राष्ट्रसंघीय सैनिक पर्यवेक्षक विशेष तालिम सामग्री–२०२५ राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने प्रशिक्षक तयार गर्नु तथा शान्ति मिसनमा खटिनुअघि सैनिक पर्यवेक्षकहरूलाई एकरूप, गुणस्तरीय र कार्यमुखी तयारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । तालिमका क्रममा सहभागीहरूले पाठ्यसामग्री अध्ययन गर्नुका साथै त्यसलाई आफैँ प्रस्तुत, परीक्षण र समीक्षा गरेका थिए । सहकर्मी नेतृत्वमा सञ्चालन गरिएका प्रशिक्षण सत्र तथा वास्तविक कार्यक्षेत्रमा आधारित अन्तिम व्यावहारिक अभ्यासमार्फत जटिल परिस्थितिमा निर्णय क्षमता, आपसी समन्वय र सैनिक पर्यवेक्षकको भूमिकाबारे व्यावहारिक अनुभव प्रदान गरिएको थियो ।

तालिमबाट राष्ट्रिय स्तरमा प्रशिक्षण सञ्चालन गर्ने क्षमता थप सुदृढ हुनुका साथै एकीकृत शान्ति मिसनमा सैनिक पर्यवेक्षकको भूमिकाबारे बुझाइ विस्तार भएको युनाइटेड नेसन्स पिसकिपिङले जनाएको छ । व्यावहारिक अभ्यासमार्फत सहभागीहरूको कार्यसम्पादन क्षमता र सीपमा समेत उल्लेखनीय सुधार भएको आयोजकले जनाएको छ। साथै २५ प्रतिशत महिला सहभागितासँगै लैङ्गिक समावेशितालाई थप प्रवर्द्धन गरिएको पनि उल्लेख गरिएको छ। आयोजकका अनुसार यस प्रकारका तालिमले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने सैनिक पर्यवेक्षकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष, सक्षम र जिम्मेवारी निर्वाहका लागि थप तयारी गराउन महत्वपूर्ण योगदान पुर्याउनेछ। तालिममा राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर ब्यारेक बाँकेकी सेनानी शान्ति आचार्य सहितका नेपाली सैनिक अधिकृतहरु सहभागि थिए ।

