कोहलपुर, साउन २७,
नेपाली चलचित्रमा समाजका गहिरा यथार्थलाई सरल कथा र संवेदनशील पात्रमार्फत प्रस्तुत गर्ने प्रयासहरू पछिल्लो समय बढ्दै गएका छन् । यही क्रममा गौँथली एउटा यस्तो चलचित्रका रूपमा देखापर्छ, जसले करिब वि.सं. २०५० देखि २०६० आसपासको नेपाली ग्रामीण सामाजिक परिवेशलाई पृष्ठभूमिमा राख्दै एउटी किशोरीको पढ्ने सपना, पारिवारिक बाध्यता, असमान वैवाहिक सम्बन्ध र त्यसबीच पनि आफ्नो लक्ष्य प्राप्तिका लागि उसले गरेको संघर्षलाई पर्दामा उतार्छ । गौँथली केवल एउटी युवतीको कथा होइन । यो त्यस्तो समय र समाजको कथा हो, जहाँ छोरीको शिक्षा परिवारको प्राथमिकतामा पर्दैनथ्यो र आर्थिक तथा सामाजिक परिस्थितिले किशोरीहरूको सपना सजिलै विवाहतर्फ मोडिदिन्थ्यो ।
चलचित्रको सुरुवातदेखि नै मुख्य पात्र गौँथलीको मनमा रहेको शिक्षाप्रतिको तीव्र चाहना स्थापित गरिन्छ । “गौँथलीले एसएलसी पास गर्छे, पढ्छे” भन्ने संवाद सम्पूर्ण चलचित्रको भावनात्मक मेरुदण्ड बनेर उभिन्छ । त्यो समय विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूका लागि विद्यालय पुग्नु नै संघर्ष थियो । त्यसमाथि उच्च शिक्षा हासिल गर्ने सपना देख्नु अझ ठूलो चुनौती थियो ।
पढाइप्रतिको ठूलो धोको हुँदाहुँदै पनि परिवारको अवस्था र कान्छी बहिनीको भविष्यका कारण गौँथलीले आफ्नै सपना थाती राखेर विवाह स्वीकार गर्नुपर्ने बाध्यता आइपर्छ । यहीँबाट चलचित्रले गम्भीर सामाजिक प्रश्न उठाउँछ, छोरीले आफ्नो जीवनको निर्णय आफैं गर्न पाउने अवस्था हाम्रो समाजमा कहिले आयो ? चलचित्रको कथामा सबैभन्दा प्रभावशाली मोड विवाहपछि आउँछ । विवाहअघि सामान्य वैवाहिक जीवनको अपेक्षा गरेकी गौँथलीले सुहागरातमा मात्र आफ्ना श्रीमान् सुस्तमनस्थितिको भएको थाहा पाउँछिन् । यो घटनाले विवाहका नाममा महिलाले भोग्नुपर्ने सामाजिक र मानसिक पीडाको अर्को पाटो उजागर गर्छ । विवाहअघि आवश्यक जानकारी, सहमति र पारदर्शिताको अभावमा एउटी महिलालाई जीवनभरको जिम्मेवारीमा धकेलिँदा त्यसले कस्तो असर पार्छ भन्ने कुरा गौँथलीको चरित्रमार्फत देखाइएको छ ।
गौँथलीको जीवनमा समस्या थपिँदै जान्छन् । उसले वैवाहिक जीवनका चुनौती, पारिवारिक जिम्मेवारी र समाजका प्रश्न तथा दबाबसँग जुध्नुपर्छ । तर एउटा कुरा बदलिँदैन—उसको पढ्ने सपना । जीवनले बाटोमा जति अवरोध खडा गरे पनि उनी आफ्नो शिक्षाको लक्ष्यतर्फ अघि बढिरहन्छिन् । त्यसैले गौँथलीलाई केवल विवाहपछि संघर्ष गर्ने महिलाको कथा भनेर सीमित गर्नु उचित हुँदैन । यो आफ्नो पहिचान र भविष्य निर्माण गर्न खोज्ने एउटी महिलाको आत्मसंघर्षको कथा पनि हो ।
पहिलो हाफभन्दा दोस्रो हाफ अझ बलियो रूपमा प्रस्तुत गरिएको छ । पहिलो भागमा पात्र स्थापना, पारिवारिक परिवेश र कथाको आधार निर्माण गर्ने क्रममा केही दृश्यहरू अपेक्षाकृत लामो लाग्न सक्छन् । तर दोस्रो हाफमा चलचित्रले आफ्नो गति र प्रभाव दुवै बढाउँछ । कथामा आउने मोडहरूले दर्शकको चासो बढाउँदै लैजान्छन् । विशेषगरी गौँथलीले परिस्थितिविरुद्ध गर्दै जाने संघर्षले कथालाई भावनात्मक उचाइ दिन्छ । अन्त्यतर्फ पुग्दा गौँथलीको सफलता उसको मात्र नभएर उसको सपनासँग जोडिएका दर्शकको पनि जितजस्तो अनुभूति हुन्छ । यद्यपि गौँथलीले एसएलसी पास गरेपछि अझ ठूलो सफलता हासिल गर्दै उच्च तहको पदमा पुगेको देखाइएको भए चलचित्र थप प्रभावशाली बन्न सक्थ्यो ।
गौँथलीको अर्को महत्वपूर्ण सबल पक्ष अभिनय हो । मुख्य नायिकाको अभिनयमा पात्रको पीडा, सपना, निराशा, साहस र संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास देखिन्छ । गौँथलीको चरित्र भावनात्मक रूपमा सहज छैन । जीवनमा आउने परिस्थितिलाई विश्वसनीय बनाउन आवश्यक भावनात्मक नियन्त्रणमा मुख्य कलाकार सफल देखिन्छिन् । त्यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उत्कृष्ट अभिनयका साथै प्रकाश घिमिरे, लुनिभा तुलाधर र सीता देवी तिमिल्सिनाको अभिनय विशेष प्रशंसायोग्य छ । उनीहरूको प्रस्तुति परिपक्व र स्वाभाविक लाग्छ । अर्कोतर्फ रवीन्द्र झा पर्दामा देखिनेबित्तिकै चलचित्रको वातावरण केही हल्का बनाइदिन्छन् । उनको स्क्रिन टाइम धेरै नभए पनि उनले आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सफल भएका छन् । गम्भीर र भावुक कथाबीच उनको अभिनयले दर्शकलाई आवश्यक मनोरञ्जन प्रदान गर्छ ।
नायकको अभिनयमा कतिपय ठाउँमा केही कमजोरी महसुस हुन सक्छ । केही दृश्यमा चरित्रको भावनात्मक गहिराइ अझ बलियो हुन सक्थ्यो । यद्यपि यसले चलचित्रको मूल प्रभावमा ठूलो असर पार्दैन । चलचित्रको पाश्र्वसङ्गीत पनि उल्लेखनीय पक्ष हो । कथाको भावनात्मक प्रकृतिलाई बुझेर प्रयोग गरिएको संगीतले पीडा, संघर्ष, आशा र सफलताका क्षणलाई अझ प्रभावकारी बनाएको छ । चलचित्रलाई बलियो बनाउने अर्को महत्वपूर्ण आधार यसको समय र सामाजिक परिवेश हो । वि.सं. २०५०–६० आसपासको नेपाली समाज आजको जस्तो डिजिटल र सूचनाले भरिएको थिएन । सञ्चार, यातायात, शिक्षा तथा सामाजिक चेतनाको पहुँच सीमित थियो । ग्रामीण परिवारमा आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा, पारिवारिक जिम्मेवारी र छोरीको विवाहजस्ता विषयले जीवनका निर्णयमा ठूलो भूमिका खेल्थे । त्यही परिवेशमा एउटी छोरीले पढ्न चाहनु र आफ्नो भविष्य आफैं निर्माण गर्ने सपना देख्नु आफैंमा विद्रोहजस्तो बन्न सक्थ्यो ।
गौँथलीले यही सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेको देखिन्छ । त्यसैले चलचित्रको कथा केवल विगतको घटना होइन, यो नेपाली समाजले पार गरेको सामाजिक यात्राको स्मरण पनि हो । गौँथलीको संघर्षमार्फत चलचित्रले छोरीलाई शिक्षा दिनु किन आवश्यक छ भन्ने कुरा भाषणमार्फत होइन, उसको जीवनका घटनाक्रममार्फत देखाएको छ । चलचित्र पूर्ण रूपमा दोषरहित भने छैन । पहिलो हाफको गति अझ चुस्त बनाउन सकिन्थ्यो । कतिपय दृश्य र संवाद छोट्याएर कथालाई अझ प्रभावकारी बनाउन सकिने सम्भावना देखिन्छ । केही पात्रको चरित्र निर्माण र मनोवैज्ञानिक पाटोलाई अझ विस्तार गर्न सकेको भए कथाको प्रभाव थप गहिरो बन्न सक्थ्यो । विशेषगरी मुख्य पात्रको वैवाहिक जीवन र त्यसपछि उसले भोग्ने मानसिक द्वन्द्वलाई अझ गहिराइमा उतारिएको भए चलचित्रको सामाजिक प्रभाव अझ बलियो हुने थियो ।
समग्रमा गौँथली एउटा महिलाको पढ्ने सपनालाई केन्द्रमा राखेर नेपाली समाजको एउटा महत्वपूर्ण कालखण्ड, पारिवारिक बाध्यता, विवाहको यथार्थ र संघर्षको कथा भन्ने चलचित्र हो । गौँथलीले एसएलसी पास गर्छे कि गर्दिन भन्ने प्रश्नभन्दा ठूलो प्रश्न चलचित्रले दर्शकसामु राख्छ—परिस्थितिले मानिसको सपना रोक्न सक्छ कि सक्दैन ? चलचित्रको उत्तर स्पष्ट छ, परिस्थितिले बाटो रोक्न सक्छ, सपना होइन । निर्माण पक्ष, कलाकार तथा सम्पूर्ण टिमलाई चलचित्रका लागि हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना ।
