‘हरियाली बढाउँ, हिमाल जोगाउँ’ नारासहित झिझरी महिला सामुदायिक वन वृक्षारोपण

कोहलपुर, बाँके, असार १५,
‘हरियाली बढाउँ, हिमाल जोगाउँ’ भन्ने मूल नारासहित राष्ट्रिय वृक्षारोपण दिवस २०८२ बाँकेको राप्ती सोनारी गाउँपालिका–९ झिझरी महिला सामुदायिक वन उपभोक्ता समितिको परिसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय देवकरण कल्वारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा बिक रहेकी थिईन् । मन्त्री बिकले कार्यक्रममा सम्बोधन गर्दै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै स्थानीय समुदायको सहकार्यबाट मात्रै दीगो वन व्यवस्थापन सम्भव हुने बताईन् । उनले भनिन्,–‘ हामीले आजको वृक्षारोपणलाई केवल परम्परा वा औपचारिकता नभई वातावरणीय संकट समाधानको महत्वपूर्ण अभियानको रूपमा लिनुपर्छ । साना–साना प्रयासले नै ठूला परिणाम ल्याउँछन् ।’
बिकले वातावरण संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले वातावरणीय संकट विश्वव्यापी चुनौती बनेको सन्दर्भमा स्थानीय तहको सहकार्यबिना दीगो वन व्यवस्थापन असम्भव रहेको धारणा राखिन् । उनले भनिन्,–‘हाम्रो एउटा रुख रोपाइँले पनि पृथ्वीलाई हरियाली बनाउन योगदान दिन सक्छ ।’ राज्यमन्त्री विकले जलवायु परिवर्तनको असर नेपालजस्तो हिमाली देशमा गहिरो रूपमा देखिन थालेको उल्लेख गर्दै वृक्षारोपण जस्ता अभियानले वातावरणमा सकारात्मक परिवर्तन ल्याउने बताइन् ।
उनले वन तथा वातावरण मन्त्रालयले वन पैदावरको उत्पादन, व्यवस्थापन र वितरणसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालनमा ल्याएको बताईन् । ‘समुदायलाई सशक्त बनाउँदै जैविक विविधता संरक्षण र वन क्षेत्रको दिगो उपयोगका लागि हामी प्रतिबद्ध छौँ । उनले भनिन् ।’ कार्यक्रममा विशिष्ट अतिथि मन्त्री कल्वारले वनको संरक्षण र विस्तार प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले भने,–‘वन भनेको हाम्रो जीवनसँग जोडिएको विषय हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण र वन संरक्षण अपरिहार्य भएको छ ।’
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव सहसचिव नवराज पुडासैनी, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, र लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई लगायतले पनि मन्तव्य व्यक्त राखेका थिए । सो अवसरमा सशस्त्र प्रहरी वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको थियो ।
डिभिजन वन कार्यालय बाँकेको आयोजनामा भएको सो कार्यक्रममा ६ दशमलव ३६ हेक्टरमा वृक्षारोपणको तयारी गरिएको छ । जसमा वृक्षारोपण क्षेत्रको परिधि १,१३८मिटर रहेको छ । ८ हजार गोटा बिरुवा वृक्षारोपण गरिएको हो । सयर ,सिसौ वीरेन्द्र फल, सतिसाल, अर्जन् श्रीखण्ड (सेतो चन्दन) गोल्डमोहर लगाइएको हो । हरेक वर्ष नेपाल सरकारले अन्तर्राष्ट्रिय राष्ट्र सामु २०४५ सम्म शून्य कार्बन् उत्सर्जन ठूलो लक्ष्यलाई कार्यान्वयन गर्न वृक्षारोपण अभियानलाई महाअभियानका रूपमा सरकारले अगाडि बढाएको डिभिजन वन कार्यालय बाँकेको प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।
कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !