कोहलपुर, फागुन १७,
कोहलपुरका भरतनिधि तिवारी धरानका मेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीबाट बाँके क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् ।
श्रम, आत्मनिर्भरता र जनसहभागितालाई मूल मन्त्र बनाएको उक्त पार्टीले अब पश्चिम नेपालका बाँके क्षेत्र नम्बर १ मा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको तिवारीले बताए । यस क्षेत्रबाट पार्टीका उम्मेदवारतिवारीले हर्क साम्पाङको “श्रम संस्कृति” भिजनलाई आधार मानेर बाँकेमा विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । भरतनिधि तिवारीले बाँकेमा निर्वाचित भएमा परम्परागत आश्वासनभन्दा फरक शैलीमा काम गर्ने बताएका छन् ।
स्थानीय स्रोत र जनशक्तिको प्रयोग गरी पूर्वाधार विकास गरिने, सिँचाइ, खानेपानी र कृषि उत्पादनमा आत्मनिर्भरता बढाइने, युवालाई वैदेशिक रोजगारीमा निर्भर हुन नपर्ने वातावरण सिर्जना गरिने, श्रमदानमार्फत सडक, विद्यालय र सामुदायिक संरचना निर्माणमा जनसहभागिता बढाइने तिवारीले बताए । बाँके कृषि, व्यापार र पर्यटनका हिसाबले सम्भावनायुक्त जिल्ला मानिन्छ । तिवारीले भने, “हामी कामबाट परिवर्तन देखाउनेछौं, नाराबाट होइन ।”
उनले बाँकेलाई कृषि उत्पादन, साना उद्योग र हरित अभियानको केन्द्र बनाउने योजना सार्वजनिक गरेका छन् । वृक्षारोपण, जलस्रोत संरक्षण र स्थानीय उत्पादन प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

