कोहलपुर, फागुन १०,
अक्षर समूह चितवनको आयोजनामा “साहित्यको सर्वाङ्गीण वृद्धि, हाम्रो प्रयत्न” भन्ने मूल नारासहित कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा कवि मेनका चापागाईँ काप्रीले “एक कविको एक दर्जन कविता” शीर्षकमा आफ्ना विभिन्न कविता वाचन गरेकी पथिईन् । उनले ‘म कवि’, ‘लेखा परीक्षक’, ‘बदलिएको समय’, ‘खरानीको फूल’ लगायतका कविता प्रस्तुत गरिन् । कविता वाचन कार्यक्रममा समिता पौडेलले ‘मेरो अनुपस्थिति’, ‘शून्य नयन’, ‘जब कवितासँग जिउन थालेँ म’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा ‘माइली दिदीको परिचय’, ‘स्यानेदाई उपसचिव बने’, ‘स्त्री आह्वान’, ‘म नथुवा चौधरी– प्रश्न विरासतको’, ‘म चेतनाको कल्पवृक्ष हुँ’ लगायतका सिर्जनाहरू पनि प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा एल बी क्षेत्री, भूपिन, रमेश प्रभात, उदय अधिकारी, गायत्री अधिकारी, बालकृष्ण थपलिया, हरिप्रिया रिजाल, राधा पाण्डे, प्रकाश थापा, नरेन्द्र पौडेल, डा. एकनारायण पौडेल, सिमन क्षेत्री, कमल अर्याल घडिँडु, रजना लामिछाने, यदुनाथ भट्टराई, निरोज जीवन, प्रकृति प्रेमी, सुजन अधिकारी, तुलमान गुरुङ, रिवाज अर्याल, रामकृष्ण अनायास, बिदुर अधिकारी लगायत करिब ५० जना साहित्यकार, पत्रकार एवं श्रोताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा भूमिन–अक्षर समूह चितवनका तर्फबाट कवितामाथि टिप्पणी एवं धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा गजल तथा लघुकथा वाचनसमेत गरिएकाले कार्यक्रम थप आकर्षक बनेको सहभागीहरूले बताएका छन् । शुशीप्रकाश कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कर्याक्रमको संचालन विनोदबाबु रिजालले गरेका थिए ।

