कोहलपुरमा साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श

कोहलपुर, कात्तिक २९,

कोहलपुरमा साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाउँदै उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले इच्छुक सच्चा कम्युनिस्ट रहेको बताए । उनले युद्धकालीन समयमा इच्छुकसँगका भेटका रमाइला प्रसङ्ग सुनाउँदै इच्छुकको जीवन संघर्षको झलक प्रस्तुत गरे । राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले इच्छुकको चिन्तन र साहित्यिक जीवनमा समानता रहेको भन्दै,–‘उहाँ सरल तर स्पष्ट विचार राख्ने साहित्यकार थिए र उनका रचना व्यावहारिक जीवनसँग मेल खान्थ्यो ।’

साथै, डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विविध पक्षलाई विस्तारपूर्वक प्रस्तुत गरे । कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भागवत खनाल र वागेश्वरी क्याम्पसका प्रमुख दानबहादुर हमालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कविहरू लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाह लगायतले इच्छुकप्रति समर्पित रचना प्रस्तुत गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !