२ हजार बढी क्याडेट दीक्षित, अनुशासित र राष्ट्रप्रति समर्पित युवा तयार गर्नु सेवा दलको प्रमुख लक्ष्य हो–उपरथी ढकाल

कोहलपुर, मंसिर १९,

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकालले सैनिक पोशाक, परेड र तालिममार्फत विविध भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिका युवालाई एउटै छानामुनि समेट्न सेवा दल सफल भएको बताएका छन् ।

राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा आयोजित राष्ट्रिय सेवा दल तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथि रहेका उपरथी ढकालले सलामी ग्रहण गर्दै युवा विकासमा सेवा दलको भूमिकालाई अत्यन्त महत्वपूर्ण भएको बताएका हुन् । उपरथी ढकालले एक सय दिने तालिमका लागि छनोट परीक्षापछि स्वेच्छाले सहभागी भएका क्याडेटहरूले छोटो समयमा देखाएको अनुशासन, लगनशीलता, इच्छाशक्ति, तालिमप्रतिको अभिरुची र कडा परिश्रमको प्रशंसा गरेका छन् । उनले क्याडेटहरूले प्रस्तुत गरेको उच्चस्तरीय कवाजले तालिमको प्रभावकारीता प्रमाणित गरेको पनि उल्लेख गरे । ढकालका अनुसार नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको यो कार्यक्रमको मुख्य उद्देश्य युवालाई अनुशासित, नेतृत्ववान, वफादार तथा राष्ट्रप्रति समर्पित नागरिकका रूपमा तयार गर्नु हो ।

क्याडेटहरू भविष्यमा राष्ट्रिय एकताको भावना मजबुत बनाउँदै मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा सदैव जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । समारोहमा प्रस्तुत सांस्कृतिक कार्यक्रम, विभिन्न गतिविधिमा क्याडेटहरूको उत्साहपूर्ण सहभागिता र आत्मविश्वासले आफूलाई समेत प्रेरित गरेको उपरथी ढकालले बताए । आगामी वर्षहरूमा तालिमलाई अझ परिष्कृत र समयानुकूल बनाउँदै कार्यक्रमलाई अन्तराष्ट्रिय स्तरसम्म विस्तार गरिने घोषणा गरे । साथै, नेपालभित्रै पनि सहभागी संख्या बढाउँदै सेवा दलका क्याडेटलाई विभिन्न क्षेत्रमा अवसर र ग्रहण योग्यता बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ढकालले क्याडेटहरूमा विकसित भइरहेको राष्ट्रभाव दिगो रूपमा कायम रहोस् भन्ने उद्देश्यले एलआर सेट तथा एलआर गल्र्स कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा यसको सुनिश्चितताका लागि आफू र सेवा दल दुवै पक्षबाट आवश्यक सबै प्रयास गर्ने आश्वासन दिए ।

उनका अनुसार, तालिमको क्रममा क्याडेटहरूले हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, राष्ट्रियता, नेतृत्व, व्यक्तित्व विकास, सैनिक इतिहास, सामाजिक उत्तरदायित्व तथा अनुशासनजस्ता सीपहरू भविष्यका लागि महत्वपूर्ण आधार बन्नेछन् । वि.सं. २०२२ सालमा युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्थापित श्री राष्ट्रिय सेवा दलले देशभरका ७७ वटै जिल्लामा रहेका ४ वटा शिक्षालयमार्फत निरन्तर तालिम प्रदान गर्दै आएको छ । हालसम्म सेवा दलमार्फत ८२ हजार १ सय ८४ जना क्याडेट दीक्षित भइसकेका छन् । यसैक्रममा आ.व. ०८२/८३ को संस्थागत तालिममा सहभागी ७ हजार ७ सय १० क्याडेटमध्ये पहिलो चरणको सामूहिक क्याम्पबाट २ हजार २ सय २० क्याडेट शुक्रबार दीक्षित बनेका छन् ।

कार्यक्रममा सैनिक अस्पताल नेपालगंजका निमित्त कमाण्डान्ट सागर कर्णिकार, नम्बर ४ बाहिनी सहायक बाहिनीपति महा सेनानी सुभाष के.सी, राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय शिक्षाधिकृत प्रमुख सेनानी शिशिर के.सी., बज्रदल गणका प्रमुख सेनानी राम चन्द्र श्रेष्ठ, पश्चिम असवाव निमित्त प्रमुख, प्रमुख सेनानी प्रकाश अधिकारी, श्री मध्यपश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश घले, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, प्रदेश तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरु विभिन्न गणहरुका गणपति, शिक्षालयका शिक्षाधिकृतहरु, विभिन्न गुल्मका गुल्मपति, विभिन्न गांउपालिका अध्यक्ष, विभिन्न नगरपालिका/गांउपालिकाका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यपक तथा समन्वय शिक्षकहरु, स्थानिय समाज सेवी, अभिभावक, संचारकर्मी, अधिकृत, पदिक, अन्यदर्जा लगायत उपस्थित सम्पूर्ण क्याडेट छात्र छात्राहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी २२ जिल्लाका ५४ विद्यालयमध्येबाट छनोट गरिएका १८ विद्यालयका ५४० जना क्याडेटले सहभागिता जनाएका थिए । समारोहमा छिन्चु इङ्लिस बोर्डिङ स्कुल सुर्खेतकी निरु खड्का, अरनीको इङ्लिस मिडियम स्कुल बर्दियाका सिद्धार्थ गुरुङ पुरस्कृत भएका छन् भने भानु माध्यमिक विद्यालय कञ्चनपुर बेस्ट प्लाटुन बन्न सफल भएको छ । गएकाे असार ९ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय सेवा दलको तालिम मंसिर १९ गते शुक्रबार औपचारिक रूपमा दीक्षान्त कवाजमार्फत समापन भएको छ । कार्यक्रमको संचालन अमल्दार पदम बहादुर रोकायले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !