नेपालमा पछिल्ला वर्षहरूमा युवाहरूले पुरानो राजनीतिक सोच र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्पको खोजी गरिरहेका छन् ।
सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको यो असन्तुष्टि अब चुनावी मैदानमा पनि प्रत्यक्ष देखिन थालेको छ । यही सन्दर्भमा दीपक बुढाथोकी आफूलाई युवाहरूको भरोसायोग्य प्रतिनिधि दाबी गर्छन् । हालै बाँकेमा आयोजित पत्रकार महिला भेटघाट कार्यक्रममा उनले भने,–‘बाँकेका समस्याहरू दशकौँदेखि दोहोरिँदै आएका छन् । अब समाधानका लागि नयाँ सोच र नयाँ ऊर्जा आवश्यक छ । म त्यही ऊर्जा लिएर आएको छु ।’ उनका अनुसार युवाहरूमा निराशा बढ्नुको प्रमुख कारण रोजगारी अभाव, गुणस्तरीय शिक्षा, स्वास्थ्यको कमी र स्थानीय स्तरमा औद्योगिक विकास नहुनु हो ।
नेपालमा केही छैन भन्ने मनोविज्ञान चिर्न आफू उम्मेदवारी दिएको उनले बताए । नेपालबाट प्रत्येक वर्ष हजारौँ युवा रोजगारीको खोजीमा विदेशिने क्रम निरन्तर बढिरहेको छ । यो प्रवृत्तिलाई रोक्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने बुढाथोकीको धारणा छ । उनले भने,–‘युवाहरूलाई विदेश जान बाध्य बनाउने अवस्था अन्त्य गर्नुपर्छ । स्वदेशमै अवसर सिर्जना भए नेपालमै भविष्य बनाउन सकिन्छ ।’ यसका लागि उनले औद्योगिक विकासलाई प्राथमिकतामा राखेका छन् । बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा ठूला स्तरको औद्योगिक कलकारखाना स्थापना गर्ने उनको प्रतिबद्धता छ । उनी भन्छन्,–‘हामीले उद्योग स्थापना गर्न सके युवालाई सीपअनुसार रोजगारी दिन सकिन्छ । कृषि, प्रशोधन उद्योग, साना–मझौला उद्योगमार्फत रोजगारीको ढोका खोल्नुपर्छ ।’ बुढाथोकीले आफ्नै जीवनबाट उदाहरण प्रस्तुत गर्ने प्रयास गरेका छन् । आफ्नो गृह जिल्ला सल्यानमा उनले चैते धान खेती सुरु गरेका छन् । ‘कृषि केवल भाषणको विषय होइन, व्यवहारमा देखिनुपर्छ,’ भन्दै उनले कृषि क्रान्तिको सुरुवात गाउँबाटै गर्नुपर्नेमा जोड दिए । उनका अनुसार आधुनिक प्रविधि, सिँचाइ सुविधा र बजार व्यवस्थापन मिलाइए कृषि क्षेत्रमा नै ठूलो सम्भावना छ । ‘हामीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सके गाउँमै आम्दानीको स्रोत बढ्छ। युवाले खेत छोडेर विदेशिनु पर्दैन ।’ उनले भने ।
बाँके क्षेत्र नम्बर १ मा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरबारे मतदाताहरूले गुनासो गर्दै आएका छन् । सरकारी विद्यालयमा पूर्वाधार अभाव, दक्ष शिक्षकको कमी तथा अस्पतालमा विशेषज्ञ सेवा नपाइने समस्या रहेको स्थानीयहरू बताउँछन् । यस सन्दर्भमा बुढाथोकीले निर्वाचित भएपश्चात शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले शिक्षा, स्वास्थ्य सेवा पहुँचयोग्य नभएसम्म नागरिक सुरक्षित नहने बताए । उनको योजना अनुसार विद्यालयहरूको पूर्वाधार सुधार, प्राविधिक शिक्षा विस्तार, स्थानीय अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्था तथा आवश्यक उपकरण उपलब्ध गराउने पहल गरिनेछ । साथै, युवामैत्री स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । बाँकेका कतिपय गाउँमा अझै पनि सुरक्षित खानेपानीको समस्या रहेको बताइन्छ । गर्मीयाममा पानीको अभावले स्थानीयवासी हैरान हुने गरेका छन् । बुढाथोकीले खानेपानी आयोजना विस्तार र दीर्घकालीन सिँचाइ योजनामा जोड दिने बताएका छन् ।
सडक, पुल र अन्य आधारभूत पूर्वाधार विकासलाई पनि उनले प्राथमिकता दिएका छन् । “पूर्वाधार विकास बिना उद्योग र कृषि दुवै अघि बढ्न सक्दैनन्,” उनले भने । राजनीतिमा दशकौँ अनुभव बटुलेका पुराना नेताहरूसँग चुनावी मैदानमा उत्रनु चुनौतीपूर्ण भएको उनी स्विकार्छन् । “अनुभव भएका नेताहरू छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्नु सजिलो छैन,” उनले भने, “तर युवाको ऊर्जा र स्पष्ट दृष्टिकोणले त्यो चुनौती पार गर्न सकिन्छ।” उनका अनुसार मतदाताहरूले अहिलेसम्म राम्रो विश्वास देखाएका छन् । “जनताको साथ र भरोसा नै मेरो शक्ति हो,” उनले जोड दिए । निर्वाचित भएपश्चात संसद्मा युवा लक्षित कार्यक्रम अगाडि सार्ने बुढाथोकीको लक्ष्य छ । सीप विकास तालिम, स्टार्टअप प्रोत्साहन, कृषि अनुदान र उद्यमशीलता विकास कार्यक्रमलाई नीति निर्माण तहमा प्राथमिकता दिने उनले बताएका छन् । “युवा केवल मतदाता होइनन्, देशको भविष्य हुन् । नीति निर्माणमै युवाको आवाज सुनिनुपर्छ,” उनले भने । पछिल्लो समय युवाहरूमा निराशा बढिरहेको सन्दर्भमा बुढाथोकीको मुख्य सन्देश ‘नेपालमै सम्भव छ’ भन्ने रहेको छ । “हामी आफैंले विश्वास नगरे देश अघि बढ्दैन ।
युवाले नेपालमै बसेर केही गर्न सक्छ भन्ने वातावरण बनाउनु मेरो मुख्य उद्देश्य हो,” उनले भने । उनका अनुसार परिवर्तन भाषणले मात्र सम्भव हुँदैन; कार्यान्वयनमा दृढता आवश्यक छ । “म विजयी भएपश्चात बाँकेलाई उदाहरणीय क्षेत्र बनाउने प्रयास गर्नेछु,” उनले प्रतिबद्धता जनाए । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नम्बर १ मा युवा उम्मेदवार दीपक बुढाथोकीको अभियानले नयाँ बहस सुरु गरेको छ । वैदेशिक रोजगारी रोक्ने, औद्योगिक विकास गर्ने, कृषि क्रान्ति अगाडि बढाउने तथा शिक्षा–स्वास्थ्य सुधार गर्ने उनको एजेन्डाले युवामाझ आशा जगाएको छ । अब निर्णय मतदाताको हातमा छ—पुरानै अभ्यासलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई अवसर दिने? बाँके क्षेत्र नम्बर १ को चुनावी परिणामले केवल एक क्षेत्रको प्रतिनिधि मात्र तय गर्ने छैन, युवाले खोजेको परिवर्तनको दिशासमेत संकेत गर्नेछ ।

