तिहारमा आगलागीको जोखिम न्यूनीकरण गर्न प्रहरी बिटहरूलाई अग्नि नियन्त्रण उपकरण

कोहलपुर, कार्तिक २३,

दीपावलीको समयमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनीकरण र तत्काल प्रतिकार्यलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले प्रहरी बिटहरूलाई अग्नि नियन्त्रण उपकरण (फायर एक्स्टिङ्गुइसर) उपलब्ध गराएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी चक्र बहादुर डमरपाललाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेका हुन् । नगरपालिकाभित्र आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत नगरपालिकाका विभिन्न प्रहरी बिटहरूलाई उक्त उपकरण हस्तान्तरण गरिएको हो । दिपावलीको समयमा विद्युत् खपत बढ्नुका साथै दियो, बत्ती तथा पटाकाको प्रयोग हुने भएकाले आगलागीको जोखिमसमेत बढ्ने गर्दछ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीबाट ठूलो जनधनको क्षति भएका घटना सार्वजनिक भइरहेका बेला नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गरेको हो । नगरपालिकाले तिहार मनाउँदा विद्युत् प्रयोगमा सावधानी अपनाउन, दियो तथा बत्ती सुरक्षित स्थानमा राख्न, पटाकाको प्रयोगबाट टाढा रहन र आगलागीबाट बच्न आवश्यक सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ ।

साथै, आपत्कालीन अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको ९८५८०९०२१२ र नगर प्रहरी कार्यालय कोहलपुरको ९८५८०१४१११ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । नगरपालिकाले सम्पूर्ण नगरवासीलाई सुरक्षा र सावधानी अपनाउँदै हर्षोल्लासका साथ तिहार मनाउन शुभकामना व्यक्त गरेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !