रास्वपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कोहलपुर, असोज २९,

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले विजया दशमी, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा कोहलपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शोमितबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद सुरेशकुमार चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै सांसद चौधरीले आगामी निर्वाचनमा रास्वपालाई विश्वास गरेर विजयी गराउन आग्रह गरे । उनले जनताले परिवर्तनको अपेक्षासहित गरेको विश्वासलाई व्यवहारमा उतार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । देशमा सुशासन कायम गर्ने, विकासलाई गति दिने, जनताका समस्या र आवश्यकता सम्बोधन गर्ने तथा नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको उनको भनाइ थियो ।

चौधरीले जनताको विश्वास जित्न भाषणभन्दा काम महत्त्वपूर्ण हुने उल्लेख गर्दै जिम्मेवारी पाएमा जनताका अपेक्षाअनुसार काम गरेर देखाउने बताए । उनले देशको मुहार फेर्न र विकासको अनुभूति गाउँदेखि सहरसम्म पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा रास्वपालाई अवसर दिन आग्रह गरे । जनताले गरेको विश्वासलाई निराश हुन नदिने र देश तथा नागरिकको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, सहमहामन्त्री मुना हमाल, सदस्यहरू गोविन्द चौधरी, कृष्ण विश्वकर्मा र कुलदीप शर्मा, बाँके क्षेत्र नम्बर १ की संयोजक कुसुम पोखरेल तथा कोहलपुर नगर समिति सभापति राजेन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कोहलपुर–१० स्थित हाइस्कुल नजिक आयोजित कार्यक्रममा सहभागीहरूले विजया दशमी, दीपावली र छठलगायतका पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !