कोहलपुर, कात्तिक १९,
अटोरिक्साको स्टेयरिङ समातेर यात्रु ओसारिरहेका बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरका उस्मान खाँ कुनै समय परिवारको सुखद भविष्यको सपना बोकेर खाडी मुलुक कतार पुगेका थिए । उमेरका ऊर्जाशील वर्षहरू विदेशको मरुभूमिमा पसिना बगाउँदै बिताए । परिवारको खुसी, छोराछोरीको भविष्य र घरको जिम्मेवारी पूरा गर्ने एउटै उद्देश्य थियो उनको । तर १८ वर्षसम्म विदेशमा बगाएको पसिना र कमाएको सम्पत्तिको हिसाब खोज्दै आज उनी आफ्नै जीवनको कठिन मोडमा आइपुगेका छन् ।
कुनै समय परिवारको आर्थिक आधार बनेका उनी अहिले पुरानो अटोरिक्सा चलाएर जीविका चलाइरहेका छन् । १८ वर्षसम्म दुःख गरेर कमाएको पैसा सकिएको उनको दाबी छ । न सम्पत्तिको भर छ, न विदेशमा कमाएको पैसाको सहारा । बाँकी छ त केवल विगतको संघर्ष, टुटेको विश्वास र न्यायको प्रतीक्षा । उनका दुई सन्तान छन् । १२ वर्षकी छोरी र ८ वर्षका छोरा । आफू रोजगारीका लागि विदेश जाँदा घरपरिवारको सम्पूर्ण जिम्मेवारी श्रीमतीलाई सुम्पिएका थिए । आफू विदेशमा पसिना बगाउने र श्रीमतीले घरपरिवार तथा छोराछोरीको हेरचाह गर्ने उनको सोच थियो ।
कतारमा रहँदा उनले नियमित रूपमा श्रीमतीको नाममा पैसा पठाउने गरेको बताउँछन् । कहिलेकाहीँ बुवाको नाममा पनि रकम पठाउने गर्थे । लामो समयसम्म श्रीमतीमाथि विश्वास गरेर आर्थिक जिम्मेवारी सुम्पिएका उनलाई श्रीमतीको अर्कै व्यक्तिसँग प्रेम सम्बन्ध रहेको जानकारी थिएन । उनका अनुसार श्रीमती र अर्का पुरुष बददाम भनिने संशुद्धोहा खाँ बीच प्रेम सम्बन्ध विकास भएको थियो । उनी विदेशमा कमाएको रकमसमेत उनीहरू दुवैले खर्च गर्ने गरेको उनको आरोप छ । १८ वर्षसम्म विदेशमा कमाएको सम्पत्तिको अहिले कुनै हिसाबकिताब नरहेको उनको गुनासो छ ।
श्रीमतीको सम्बन्धबारे जानकारी पाएपछि उनी कतारबाट नेपाल फर्किए । नेपाल आएर श्रीमतीसँग यस विषयमा कुराकानी गरे । उनका अनुसार श्रीमतीसँग सम्बन्धमा रहेका व्यक्तिले उनलाई कुटपिट गर्ने, धम्क्याउने र पैसा माग्ने गरेका थिए । विवाद बढ्दै गएपछि इलाका प्रहरी कार्यालय खजुरासम्म घटना पुग्यो । श्रीमतीले समेत आफूविरुद्ध जबरजस्तीकरणी गरेको आरोप लगाउँदै ती पुरुषविरुद्ध जाहेरी दिएको उनको भनाइ छ ।
मुद्दा दर्ता भएको करिब १५–२० दिनपछि उनका छोरीलाई आफ्नो घरमा लिएर गएको उनले बताए । त्यसपछि श्रीमती करिब एक महिनासम्म माइतीमा बसेकी थिइन् । यसैबीच प्रहरीले स्वास्थ्य परीक्षणका लागि भेरी अस्पताल पठाएको र परीक्षणका क्रममा श्रीमती गर्भवती रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ । पछि भदौ महिनामा धनौली प्रहरी चौकीमार्फत पुनः मेडिकल परीक्षण गराउँदा गर्भ ११ हप्ता ६ दिनको रहेको जानकारी आएको उनले बताए । उनका अनुसार भदौ २ गते मेडिकल परीक्षणपछि श्रीमती माइती गएकी थिइन् । माइतीमा दुई दिन बसेपछि भदौ ४ गते उनी फेरि ती पुरुषसँग गएको उनको आरोप छ । श्रीमती घरमा नभेटिएपछि उनका बुवाले खोजतलास सुरु गरे । रुपैडिहास्थित प्रहरी कार्यालयमा समेत उजुरी दिएर छोरीको खोजी गरिदिन आग्रह गरेको उनले बताए ।
केही दिनपछि छोरीले फोन गरेर आफू प्रेमीसँगै रहेको र आफ्नो चिन्ता नगर्न बुवालाई भनेको उनको भनाइ छ । यस घटनापछि परिवारभित्रको विवाद थप जटिल बनेको उनको दाबी छ । गर्भसम्बन्धी विषयमा समेत भारतसम्म पुगेको घटनाक्रम रहेको उनले बताए । यस विषयमा सम्बन्धित निकायबाट सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ । उनको अहिलेको मुख्य माग दुईवटा छन् । पहिलो, वैवाहिक सम्बन्ध र प्रहरीमा परेको मुद्दाको निष्पक्ष अनुसन्धान होस् । दोस्रो, विदेशमा १८ वर्षसम्म दुःख गरेर कमाएको रकम कहाँ र कसरी खर्च भयो भन्ने हिसाब सार्वजनिक होस् । उनका अनुसार आफूले विदेशमा कमाएको रकम श्रीमतीको नाममा पठाउने गरेको भए पनि अहिले आफूसँग कुनै बचत छैन । परिवारको भविष्यका लागि कमाएको सम्पत्तिको अवस्था के भयो भन्ने प्रश्नको जवाफ उनी खोजिरहेका छन् ।
उनले श्रीमतीसँग सम्बन्ध रहेको आरोप लागेका पुरुषको परिवार आर्थिक रूपमा सम्पन्न रहेको र आफूलाई न्यायिक प्रक्रियामा कमजोर बनाउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरेका छन् । वकिल तथा न्यायिक प्रक्रियासँग सम्बन्धित व्यक्तिहरूसँग आर्थिक चलखेल गरेर आफूलाई कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप छ । ती पुरुषलाई धरौटीमा छुटाउनसमेत चलखेल भइरहेको उनको दाबी छ । हाल आरोपित पुरुष हिरासतमा रहेको उनले बताएका छन् । यद्यपि मुद्दाको वास्तविक अवस्था, आरोपको प्रकृति र संलग्न व्यक्तिहरूको दोष वा निर्दोषिता सम्बन्धित अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै टुङ्गिनुपर्ने विषय हो ।
यो घटनामा सबैभन्दा बढी प्रभावित हुने अवस्थामा दुई बालबालिका छन् । १२ वर्षकी छोरी र ८ वर्षका छोरा । आमाबुवाबीचको विवाद र पारिवारिक विखण्डनले उनीहरूको भविष्यमा कस्तो असर पार्ला भन्ने चिन्ता पनि उत्तिकै छ । परिवारको सुखद भविष्यका लागि विदेशमा जीवनका महत्त्वपूर्ण वर्षहरू बिताएका उनी अहिले आफ्नै सन्तानको भविष्यबारे चिन्तित छन् । विदेशमा कमाएको पैसा सकिएपछि पुरानो अटोरिक्सा चलाएर घरखर्च जुटाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।
उनी आफूले न्याय पाउनुपर्ने माग गरिरहेका छन् । तर उनको भनाइमा आफूलाई मात्र न्याय दिएर पुग्दैन, घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ ।
दुवै पक्षबाट गल्ती भएको छ भने दुवैलाई कानुनअनुसार कारबाही हुनुपर्छ । दोषीलाई सजाय हुनुपर्छ र निर्दोषले न्याय पाउनुपर्छ । यो घटनाको राम्रोसँग छानबिन होस्, सत्यतथ्य बाहिर आओस्,ु उनको माग छ । १८ वर्षसम्म विदेशमा पसिना बगाएर परिवारको भविष्य निर्माण गर्ने सपना देखेका उनी आज पुरानो अटोरिक्साको सहारामा जीवन धानिरहेका छन् । उनको कथा केवल श्रीमान्–श्रीमतीबीचको विवादमा सीमित छैन । यो वैदेशिक रोजगारी, पारिवारिक विश्वास, आर्थिक पारदर्शिता, बालबालिकाको भविष्य र न्यायिक प्रक्रियासँग जोडिएको संवेदनशील विषय पनि हो । अब उनको अपेक्षा एउटै छ, विगतमा आफूले भोगेको दुःखको उचित मूल्याङ्कन होस्, कमाएको सम्पत्तिको वास्तविक हिसाब खुलोस् र घटनाको निष्पक्ष छानबिनबाट न्याय प्राप्त होस् ।
