कोहलपुर, मंसिर, ७,
गरिमा विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा कोहलपुर शाखाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०१ पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख प्रकाश देवकोटा, बैंकका कर्मचारी, उद्योगी व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, समाजसेवी तथा स्थानीय सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए । रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बैंकका क्षेत्रीय प्रमुख प्रकाश देवकोटाले बैंक तथा वित्तीय संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुपर्ने बताए । उनले बैंक र समाजबीचको सम्बन्ध विश्वास, सहकार्य र सेवाभावमा आधारित रहेको उल्लेख गर्दै ग्राहक तथा सेवाग्राहीको विश्वासलाई आत्मसात् गर्दै बैंकले छरितो, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बताए । ‘ुबैंक भनेको केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, समाजको सुखदुःखमा साथ दिने र आवश्यकताका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था पनि हो । समाजसँगको विश्वास र सम्बन्धलाई अझ मजबुत बनाउँदै वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा पनि बैंकले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ,’ देवकोटाले भने । उनले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको भावना विकास गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई निरन्तरता दिने बताए ।
त्यस्तै, बैंकका कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै रगतको अभाव हुन नदिन बैंकले आफ्नो तर्फबाट सामाजिक योगदान गर्ने उद्देश्य राखेको बताए । उनले रक्तदानजस्तो मानवीय सेवामा बैंकका कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे । ‘रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको अभाव कम गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ । बैंकले वित्तीय सेवा प्रवाहसँगै समाजलाई आवश्यक पर्ने यस्ता मानवीय र सामाजिक कार्यमा पनि अग्रसरता लिँदै जानेछ,’ न्यौपानेले भने ।
गरिमा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा देशभरका १० वटा क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकले विगतका वर्षहरूमा पनि वार्षिकोत्सवलाई विभिन्न सामाजिक, रचनात्मक तथा सेवामूलक कार्यक्रममार्फत भव्य रूपमा मनाउँदै आएको छ । आर्थिक गतिविधिलाई चलायमान बनाउँदै ग्राहकको विश्वास जित्न सफल बैंकले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरिरहेको छ । कोहलपुर शाखामा आयोजित रक्तदान कार्यक्रमबाट संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
