मौसम सुधारोन्मुख, मनसुन अझै कायम रहेकाले सतर्क रहन आग्रह

कोहलपुर, असोज ११,

आईतबार बिहानदेखि मौसम क्रमिक रूपमा सुधारको क्रममा रहेको छ ।

मनसुन अझै पूर्ण रूपमा नसकिएकाले वर्षा तथा मौसमजन्य जोखिम भने कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेश र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । आज राति पनि सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा समेत वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसममा सुधार देखिए पनि मनसुन पूर्ण रूपमा अन्त्य नभइसकेकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु तथा सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रमेश अवस्थीका अनुसार पश्चिमी वायु पश्चिमतिर सरिरहेको र दिनभर हावा चल्ने सम्भावना रहेको छ । अवस्थीले सर्वसाधारणलाई मौसमको अवस्था हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !