कोहलपुर, असोज १२,
नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि १९ जना पुरुष उम्मेदवारबीच एक्ली महिला उम्मेदवारका रूपमा अञ्जना पाण्डे प्रतिस्पर्धामा उत्रिएकी छन् ।
२०६० सालमा बालकुमारी नर्सिङ क्याम्पसबाट नेपाल विद्यार्थी संघ ९नेविसंघ० को राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी पाण्डेले सामाजिक विकासलाई आफ्नो राजनीतिक यात्राको मुख्य उद्देश्य बनाउँदै आएकी छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेकी पाण्डे लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।
पाण्डे नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्यसमेत हुन् । यसअघि उनले कांग्रेस लुम्बिनी प्रदेशको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । पार्टीको प्रदेशस्तरीय जिम्मेवारीसँगै महिला उद्यमी तथा सामाजिक क्षेत्रमा समेत उनको सक्रियता रहँदै आएको छ । खुलातर्फ १९ जना पुरुष उम्मेदवारबीच एक्ली महिला उम्मेदवारका रूपमा उनको उम्मेदवारीले कांग्रेसभित्र महिला सहभागिता र नेतृत्वको विषयलाई समेत चर्चामा ल्याएको छ । पार्टीका विभिन्न तहमा महिलाको सहभागिता बढाउनुपर्ने आवाज उठिरहेका बेला पाण्डेको उम्मेदवारीलाई महिला नेतृत्वको उपस्थितिका रूपमा हेरिएको छ ।
पाण्डेका समर्थकहरूले उनलाई बाँके क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन मतदातासमक्ष अपिल गरेका छन् । महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ हुने प्रतिस्पर्धामा पाण्डे एक्ली महिला उम्मेदवार रहेकाले उनको उम्मेदवारीलाई महिला सहभागिताको दृष्टिले समेत चासोका साथ हेरिएको छ ।
