गरिमा विकास बैंक कोहलपुर शाखाद्वारा आयोजित रक्तदानमा १०१ पिन्ट रगत संकलन

कोहलपुर, मंसिर, ७,

गरिमा विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा कोहलपुर शाखाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०१ पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख प्रकाश देवकोटा, बैंकका कर्मचारी, उद्योगी व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, समाजसेवी तथा स्थानीय सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए । रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका क्षेत्रीय प्रमुख प्रकाश देवकोटाले बैंक तथा वित्तीय संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुपर्ने बताए । उनले बैंक र समाजबीचको सम्बन्ध विश्वास, सहकार्य र सेवाभावमा आधारित रहेको उल्लेख गर्दै ग्राहक तथा सेवाग्राहीको विश्वासलाई आत्मसात् गर्दै बैंकले छरितो, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बताए । ‘ुबैंक भनेको केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, समाजको सुखदुःखमा साथ दिने र आवश्यकताका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था पनि हो । समाजसँगको विश्वास र सम्बन्धलाई अझ मजबुत बनाउँदै वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा पनि बैंकले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ,’ देवकोटाले भने । उनले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको भावना विकास गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई निरन्तरता दिने बताए ।त्यस्तै, बैंकका कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै रगतको अभाव हुन नदिन बैंकले आफ्नो तर्फबाट सामाजिक योगदान गर्ने उद्देश्य राखेको बताए । उनले रक्तदानजस्तो मानवीय सेवामा बैंकका कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे । ‘रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको अभाव कम गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ । बैंकले वित्तीय सेवा प्रवाहसँगै समाजलाई आवश्यक पर्ने यस्ता मानवीय र सामाजिक कार्यमा पनि अग्रसरता लिँदै जानेछ,’ न्यौपानेले भने ।

गरिमा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा देशभरका १० वटा क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकले विगतका वर्षहरूमा पनि वार्षिकोत्सवलाई विभिन्न सामाजिक, रचनात्मक तथा सेवामूलक कार्यक्रममार्फत भव्य रूपमा मनाउँदै आएको छ । आर्थिक गतिविधिलाई चलायमान बनाउँदै ग्राहकको विश्वास जित्न सफल बैंकले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरिरहेको छ । कोहलपुर शाखामा आयोजित रक्तदान कार्यक्रमबाट संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !