कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहने

कोहलपुर, पुष १२,

जिल्लाको कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको चौथो दिन पनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् ।

चौथोदिन आजका मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी, सोनु कुश्मी, गायक विष्णु सिंजाली मगर, हाँस्य कलाकार शिव शंकर रिजाल (जोगेन्द्र)सुरेन्द्र केसी (मुल साग) र गायक डिराज पौडेल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । तेस्रो दिन हिजो ख्याती प्राप्त राष्ट्रियस्तरका कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

पुस ९ गते सुरु भएको महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका शान्ता रानी परियार, युवामाझ निकै लोकप्रिय गायक कमल खत्री, लोक तथा दोहोरी गायक कमल बिसी माल्दाई र कृश क्षेत्री लगायतले कोहलपुर महोत्सवलाई तताएका थिए । उनीहरुको बेजोड प्रस्तुतिमा दर्शकहरु निक्कै झुमेका थिए ।

स्थानीय कर्णाली रोधीघरका कलाकारहरुले दोहोरी प्रस्तुत गरेका थिए । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।

महोत्सवका मुख्य आकर्षकका रुपमा ,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी, कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !