कोहलपुर, चैत्र १,
कलाकार तथा उद्घोषक विनोद परियार र गायिका सिम्रन परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत “खोली तिरैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आइतबार बाँकेको कोहलपुरस्थित बम्बो क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । माया–प्रेमको भावनामा आधारित यो गीतले पछिल्लो समय समाजमा देखिएको एक गम्भीर प्रवृत्तिलाई सन्देशमूलक ढंगले उठान गरेको छ । प्रेम सम्बन्धका कारण बुवाआमाको मर्म र भावना विपरीत गएर जीवन नै त्याग्ने जस्ता घटनाहरू बढ्दै गइरहेको सन्दर्भमा गीतले यस्तो गलत निर्णय नगर्न र जीवनलाई सकारात्मक ढंगले अगाडि बढाउन प्रेरणा दिने सन्देश दिएको छ ।
गीतका शब्द सन्दिप सेन्चुरी र राजेन्द्र परियारले लेखेका हुन् । गीतमा जीवन, प्रेम र परिवारको महत्वलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शक तथा श्रोताको मन छुने विश्वास निर्माण गरिएको छ । म्युजिक भिडियोमा मोडलका रूपमा अगम परियार र यमुना भण्डारी ले अभिनय गरेका छन् । उनीहरूको अभिनयले गीतको कथालाई अझ जीवन्त बनाएको छ । भिडियोको कोरियोग्राफी मनोज घर्ती मगर ले गरेका हुन्, जसले गीतको भाव अनुसार आकर्षक प्रस्तुति तयार पारेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा गायक विनोद परियार, मोडल अगम परियार र यमुना भण्डारी, तथा कोरियोग्राफर मनोज घर्ती मगरले सबै दर्शक तथा श्रोताहरूसँग आफ्नो नयाँ गीतलाई माया गरिदिन, हेरेर प्रतिक्रिया दिन र सहयोग गरिदिन आग्रह गरेका छन् । उक्त लोकदोहोरी गीत “खोली तिरैमा” को म्युजिक भिडियो ओएसआर मुभिज युट्युब च्यानलमार्फत हेर्न सकिनेछ । निर्माण पक्षले गीतले दर्शक श्रोताबाट राम्रो माया पाउने विश्वास व्यक्त गरेको छ । यस अवसरमा पत्रकार कुशल दर्लामी, शुभाकर विश्वकर्मा, बिधुत्मा रैका र जनता रैकाले पनि गीतको सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दै गीतले दर्शक तथा श्रोतामाझ राम्रो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।


