कोहलपुर ७, प्रकृति प्रेमी,
मार्च २१ अर्थात् चैत ७ गते विश्व कविता दिवस, सम्पूर्ण किताब, नारायणगढमा भव्य कार्यक्रमका बिच कविता वाचन एवम् कवितामाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
चितवनका, चितवनमा रहेर साहित्य सिर्जना एवम् व्यापार, व्यवसाय गरेर जिविकोपार्जन गरिरहनुभएका तथा चितवन बाहिरबाट आउनुभएका स्रष्टाहरूको उपस्थितिमा कविता वाचन एवम् कवितामाथि विमर्श कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चितवन, नवलपरासी , काठमाडौँ, बागलुङ तथा भारतको सिक्किमबाट समेत कवि, गजलकारहरूको उपस्थिति रहेको थियो ।
अक्षर समूह चितवनका अध्यक्ष एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा विदुर अधिकारी , मेनुका चापागाईं, चिराग भण्डारी , नरेन्द्रराज पौडेल , तिलकराम पन्थी , प्रकाश त्रिपाठी, बालकृष्ण थपलिया, ईश्वर कँडेल, महेश्वर पन्त, राजेन्द्र केसी, मनोज विक्रम विष्ट, विष्णुमाया कट्टेल, तुलमान गुरुङ ,ऋषभदेव घिमिरे, उदित प्रकाश, भूपिन लगायतका स्रष्टाहरूले अङ्ग्रेजी एवम् नेपाली भाषामा कविता, गजल, गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा साथमै बसेर रामकृष्ण अनायास, उदय अधिकारी, तेजेन्द्र रानाहरू स्रष्टाहरूलाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा दुई दर्जन बढीको उपस्थिति रहेको थियो ।

