कोहलपुर, चैत्र २,
बास नेपालले आयोजना गर्ने एकल गजल वाचन कार्यक्रमको २३२औँ श्रृङ्खलामा चर्चित गजलकार कमल संघर्षले आफ्ना दर्जनौँ गजल प्रस्तुत गर्दै कार्यक्रमको माहोल निकै भव्य र रोमाञ्चक बनाएका छन् ।
कार्यक्रममा संघर्षले अछामी भाषाका देउडा गजल, नेपाली गजल लगायत गरी ३० भन्दा बढी गजल सुनाएका थिए । उनका भावनात्मक र व्यङ्ग्यात्मक गजलहरूले सभाहलमा उपस्थित दर्शक–श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो । गजल वाचनका क्रममा उनले प्रस्तुत गरेका सिर्जनाले माहोल तताउँदै कार्यक्रमस्थल निकै उत्साहपूर्ण बनेको थियो ।
बास नेपालका केन्द्रिय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले रहेकी थिईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईं, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी लगायत पत्रकार, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रमुख अतिथि काफ्लेले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताईन् । उनले गजलकार संघर्षले आफ्ना सिर्जनामार्फत समाजका विभिन्न विषयलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् । कार्यक्रममा सहभागी साहित्यप्रेमी, पत्रकार तथा दर्शक–श्रोताले गजल वाचनको भरपूर आनन्द लिएका थिए । बास नेपालले आयोजना गरेको एकल गजल वाचन कार्यक्रमले साहित्यिक गतिविधिलाई अझ सशक्त बनाउँदै आएको आयोजकले जनाएको छ ।

