कोहलपुर, चैत्र ७,
कञ्चनपुरको पुनर्वासस्थित त्रिभुवन स्वास्थ्य चौकीमा बिहीबारदेखि नयाँ फुल्ली अटोमेटिक बायोकेमिस्ट्री प्रयोगशाला मेसिनबाट सेवा सुरु गरिएको छ ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै नगर प्रमुख शर्माले नयाँ फुल्ली अटोमेटिक बायोकेमिस्ट्री मेसिन सञ्चालनमा आएपछि त्रिभुवन स्वास्थ्य चौकीको सेवा थप छिटो, सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । स्थानीय स्तरमै मुटु, मृगौला र कलेजोसम्बन्धी विभिन्न परीक्षणहरू गर्न सकिने बताउँदै शर्माले बिरामीलाई बाहिर धाउनुपर्ने बाध्यता कम गर्ने बताए । एकैपटक धेरै स्याम्पल परीक्षण गर्न सकिने भएकाले समय बचत हुनुका साथै सेवाको गुणस्तर पनि बढ्नेमा जोड दिए । साथै, सहुलियत दरमा सेवा उपलब्ध हुँदा आम नागरिकलाई थप राहत मिल्ने अपेक्षा गरेका छन् ।
झण्डै २० लाख रुपैयाँ मूल्य बराबरको उक्त मेसिन सञ्चालनमा आएपछि स्वास्थ्य चौकीको प्रयोगशाला सेवामा सहजता आएको र एकैपटक धेरै परीक्षण रिपोर्ट निकाल्न सकिने जनाइएको छ । यसबाट समय बचत हुनुका साथै स्थानीय स्तरमै मुटु, मृगौला र कलेजोसम्बन्धी रोगको जाँच सम्भव हुने बताइएको छ । प्रयोगशालाका अनुसार नयाँ मेसिनबाट एक घण्टामा करिब २०० स्याम्पल परीक्षण गर्न सकिन्छ । यसले गर्दा बिरामीले छिटो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ । त्रिभुवनबस्ती स्वास्थ्य चौकीमार्फत नै मुटु, मृगौला तथा कलेजोसम्बन्धी विभिन्न परीक्षण सेवा उपलब्ध हुने भएको छ । साथै, बाहिरी प्रयोगशालाको तुलनामा करिब ५० प्रतिशतसम्म छुटमा सेवा प्रदान गरिने जनाइएको छ ।
नयाँ मेसिन उद्घाटनसँगै रगत परीक्षण सेवालाई निरन्तरता दिइने र स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सबैको पहलबाट उक्त मेसिन स्वास्थ्य चौकीमा भित्र्याउन सफल भएको जनाइएको छ ।


