रसुवाका बाढीपीडितका लागि साँफेबगर नगरपालिकाको रु.४० लाखभन्दा बढी सहयोग

कोहलपुर, भदौ १९,

अछामको साँफेबगर नगरपालिकाले रसुवाका बाढीपीडितका लागि रु ४० लाखभन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारको पीडामा मलम लगाउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको स्वेच्छिक योगदानसँगै पालिकाको विपद् व्यवस्थापन शीर्षकअन्तर्गतको बजेटबाट जुटाइने भएको हो । विपद्को पीडामा रहेका नागरिकलाई स्थानीय तहले आफ्नो क्षमताअनुसार साथ र सहयोग गर्नु मानवीय दायित्व भएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताएका छन् ।

नगर प्रमुख कुँवरले विपद् जहाँसुकै आए पनि त्यसको पीडा सबै नेपालीको को साझा पीडा भएको बताए। उनले भने,-‘जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको सहयोग र नगरपालिकाको विपद् व्यवस्थापन बजेटबाट रु ४० लाखभन्दा बढी सहयोग गर्ने तयारी गरेका छौँ ।’ मानवीय संवेदना र एकताको यो उदाहरणले विपद्मा परेका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !