कोहलपुरमा मंसिर ११ गते भव्य सांगीतिक कार्यक्रम हुँदै

कोहलपुर, मंसिर ८,

नेपाली कला, संस्कृति तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा आगामी मंसिर ११ गते कोहलपुर खुला मञ्चमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड तथा फिरन्ते ब्यान्ड र भाका नेपाल ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारी र समता थापाले गर्नेछन् । आयोजक संस्थाका अध्यक्ष प्रशान्त सुनारका अनुसार सुरताल म्युजिकल टुरको मुख्य उद्देश्य नेपाली संगीतलाई देशका विभिन्न भूगोल, समुदाय र दर्शकमाझ पुर्‍याउनुका साथै स्थानीय स्तरमा सक्रिय सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नु हो ।

उनले यो टुर मनोरञ्जनमा मात्र सीमित नभई नेपाली कलाकार, संगीत र सिर्जनालाई देशव्यापी रूपमा जोड्ने अभियानसमेत भएको बताए । देशका सातै प्रदेशमा सांगीतिक कार्यक्रममार्फत नेपाली संगीतको पहिचान र पहुँच विस्तार गर्ने लक्ष्य आयोजकले लिएको छ । कार्यक्रमको टिकट इसेवामार्फत उपलब्ध हुने जनाइएको छ । दर्शकले ३०० रुपैयाँमा टिकट खरिद गरी तीनवटै सांगीतिक प्रस्तुति हेर्न सक्ने आयोजकले जनाएको छ भने ५ सय मा दुईवटा टिकट लिन मिल्नेछ ।

कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जानकारी दिएको छ। प्रेस विज्ञप्तिमा कोहलपुरको कार्यक्रम मंसिर ११ गते हुने उल्लेख छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !