कोहलपुर, मंसिर १०,
राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ कोहलपुर नगर कार्यसमितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण प्रक्रिया तत्काल अघि बढाउन कोहलपुर नगरपालिकासँग माग गरेको छ ।
कोहलपुर नगर समिति सभापति राजेन्द्र श्रेष्ठको नेतृत्वमा रास्वपा कोहलपुर नगर कार्यसमितिले बुधबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै जग्गा नापजाँच तथा प्रमाणिकरणको कामलाई तीव्रता दिन माग गरेको हो । ध्यानाकर्षणपत्रमा भूमि आयोग गठन भएको तीन महिना बितिसक्दा पनि कोहलपुर नगरपालिकाबाट आवश्यक सिफारिस तथा प्राविधिक काममा ढिलाइ हुँदा हजारौँ नागरिक संवैधानिक अधिकारबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले स्थानीय तहलाई सार्वजनिक रूपमा जग्गा वितरण प्रक्रियामा आवश्यक सहजीकरण गर्न निर्देशन दिइसकेको अवस्थामा पनि कोहलपुरमा कामले गति लिन नसकेको रास्वपाको भनाइ छ। नगर कार्यसमितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र प्रमाणीकरणको काम तत्काल अघि बढाउन, जिल्ला भूमि आयोगमा पठाउनुपर्ने सम्पूर्ण सिफारिस तथा कागजी प्रक्रिया पाँच दिनभित्र सम्पन्न गर्न माग गरेको छ।
रास्वपा कोहलपुर नगर कार्यसमितिका नगर सचिव देविन सुवेदीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा वास्तविक सुकुम्बासीको पहिचान गरी पारदर्शी ढंगले जग्गा वितरणको कार्यतालिका सार्वजनिक गर्न, जनप्रतिनिधिको भूमिका निर्वाह गर्न तथा होल्डिङ सेन्टरमा राखिएका वास्तविक भूमिहीनलाई जतिसक्दो छिटो जग्गाको व्यवस्थापन गरी लालपुर्जा वितरण गर्न माग गरिएको छ।
