कोहलपुर, असोज ११,
महिलाले घरभित्र गर्ने श्रम, उनीहरूले भोग्ने पारिवारिक तथा सामाजिक चुनौती र ती चुनौतीलाई चिर्दै हासिल गरेको सफलताको कथा बोकेर नाट्य समूह ‘कथा घेरा’ सुदूर कर्णाली नाट्य यात्रामा निस्किएको छ । काठमाडौको टेकुमा अवस्थित कथा घेराको कौसि थिएटरले विभिन्न सामाजिक बिषयमा नाटक गर्दै आइरहेको छ, मानसिक स्वास्थ्य, महिला हिंसा, लैङगिक विभेद जस्ता विभिन्न सामाजिक बिषयमा बहस सिर्जना गर्ने किसिमका नाटकहरु मञ्चन गर्दै आइरहेको छ । यसै शिलशिलामा कथा घेराको समूह सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कचहरी नाटक प्रर्दशनमा व्यस्त छ । कैलाली कञ्चनपुर तथा बैतडीका विभिन्न स्थानमा कचहरी नाटक प्रर्दशन सम्पन्न गरिसकेको छ । कथा घेराको पछिल्लो कचहरी नाटक यात्रा सुदूरपश्चिम तथा कर्णाली प्रदेशलाई केन्द्रमा राखिएको छ ।

कथा घेरा समूहले २०८२ साल चैतमा सुदूरपश्चिम र कर्णालीका ११ वटा स्थानमा कचहरी नाटक प्रदर्शन गरिसकेको छ भने अहिले असोजमा सुदूरपश्चिम र कर्णालीका प्रदेशका थप १५ स्थानमा नाटक प्रदर्शन गर्ने योजना रहेको कथा घेराका मुख्य कलाकार बिजय नेपालले जानकारी दिए । कचहरी नाटकका लागि कथा घेराको ११ जनाको समूह परिचालित छ । त्यसमध्ये आठ जना कलाकारले प्रत्यक्ष रूपमा नाटकमा अभिनय गरिरहेका छन् । उक्त नाट्य यात्रामा नेपालकी चर्चित कलाकार लुनिभा तुलाधर कन्डक्टरको भुमिकामा रहेकी छन् । कथा घेराले प्रस्तुत गरिरहेको कचहरी नाटकले महिलाले घरपरिवारमा गर्ने कामलाई केवल ‘घरायसी जिम्मेवारी’का रूपमा नहेरी त्यसमा रहेको श्रम, सीप र सम्भावनालाई पहिचान गर्नुपर्ने सन्देश दिन खोजेको छ ।

नाटकपछि दर्शकमा विशेषगरी पुरुषको भूमिकाबारे सोच विकास होस् भन्ने समूहको अपेक्षा छ । घरको काम महिलाको मात्र जिम्मेवारी नभएको भन्दै पुरुषले पनि महिलालाई घरायसी काममा सहयोग गर्नुपर्ने सन्देश नाटकले दिन्छ । त्यसैगरी, महिलाले आफूसँग भएको सीपलाई व्यवसायमा रूपान्तरण गर्न चाहेमा परिवार र समाजले उनीहरूलाई आवश्यक वातावरण, समय र सहयोग उपलब्ध गराउनुपर्ने विषय पनि नाटकमा प्रस्तुत गरिएको छ । कथा घेराका अनुसार महिलाको सीपलाई व्यवसायीकरण गर्ने चाहना भए त्यसलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न परिवार र समाजको साथ आवश्यक हुन्छ । महिलालाई अघि बढ्नका लागि समय, अवसर र सहयोग उपलब्ध गराउनु सामाजिक जिम्मेवारीसमेत हो भन्ने सन्देश नाटकले प्रवाह गर्छ । नाटकमा महिलाले घरपरिवार तथा समाजबाट भोग्नुपर्ने विभिन्न समस्या र चुनौतीलाई समेत प्रस्तुत गरिएको छ । पारिवारिक दबाब, सामाजिक सोच र महिलामाथि लगाइने विभिन्न सीमाका बीच उनीहरूले ती चुनौतीलाई चिर्दै आफ्नो क्षमता पहिचान गर्न सकेको कथा नाटकमा देखाइएको छ ।

महिलाले सामना गरेका समस्या र संघर्षसँगै उनीहरूले हासिल गरेको सफलता तथा सम्भावनालाई समेत दृश्यका माध्यमबाट प्रस्तुत गरिएको कथा घेराका कलाकार नेपालले बताएका छन् । नाटकमार्फत दर्शकलाई महिलाको जीवनमा आउने समस्या देखाएर सहानुभूति मात्र खोज्नु भन्दा महिलाको क्षमता, सीप र निर्णयलाई सम्मान गर्दै उनीहरूलाई अघि बढ्ने अवसर दिनुपर्ने सन्देश दिन खोजिएको छ । कचहरी नाटकलाई समुदायसम्म पुर्याएर प्रत्यक्ष संवाद र मनोरञ्जनको माध्यमबाट सामाजिक विषयमा बहस सिर्जना गर्ने उद्देश्य रहेको कथा घेराले जनाएको छ । समूहले आगामी दिनमा पनि रङ्गमञ्च तथा सडक नाटकमार्फत सामाजिक सरोकारका विविध विषयलाई निरन्तर उठाउँदै जाने बताएको छ । नेपालले भने,“दर्शकहरूको प्रतिक्रियाबाट नाटकले सकारात्मक प्रभाव पार्न सफल भएको हामीले अनुभव गरेका छौँ ।”
