कोहलपुर, असोज १२,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा हरि कठायतले उम्मेदवारी घोषणा गरेका छन् ।
कठायतले आफ्नो राजनीतिक यात्रा संघर्ष, निरन्तरता र जनतासँगको सहकार्यबाट अघि बढेको बताएका छन् । कोहलपुरको सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयमा निरन्तर जोडिँदै आएको अनुभवलाई पार्टीको संगठनात्मक यात्रामा पनि अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ ।
उम्मेदवारी घोषणा गर्दै कठायतले पार्टीका अग्रज, तरुण तथा युवा साथीहरू र क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् । उनले आफ्नो राजनीतिक यात्रालाई “हिजो विचार बोकेर तरुण दलको राजनीतिमा प्रवेश, आज परिवर्तनको संकल्प बोकेर पार्टी राजनीतिमा निरन्तरता” भन्ने नारासहित अघि सारेका छन् ।
कठायतले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट तथा संवादलाई तीव्रता दिँदै आफ्नो उम्मेदवारीका विषयमा समर्थन जुटाउने प्रयास थालेका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर १ मा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेसँगै क्षेत्रीय राजनीतिक गतिविधि पनि तीव्र बनेको छ ।
