कोहलपुर, असोज १३,
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, बाँकेको क्षेत्रीय कार्यसमिति सभापतिमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।
क्षेत्रीय सभापति पदका प्रत्यासी पोषण केसीले आफ्नो उम्मेदवारी स्थगन गर्दै आचार्यलाई समर्थन गरेपछि आचार्य सर्वसम्मत सभापति चयन भएका हुन् । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले केसीले उम्मेदवारी स्थगन गरेका हुन् । सर्वसम्मत चयनपछि आचार्यले केसीप्रति आभार व्यक्त गर्दै त्याग, सहमति र सहकार्यको कदमले पार्टीभित्र एकताको सन्देश दिएको बताएका छन् । आचार्यले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै सबै तहका नेता, कार्यकर्ता र प्रतिनिधिलाई समेटेर संगठनलाई थप सबल, सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आचार्यले आगामी दिनमा पोषण केसीको अनुभव र ऊर्जालाई समेत साथमा लिएर संगठन निर्माणमा अघि बढ्ने बताए । साथै, सहमतिको वातावरण निर्माणमा भूमिका खेल्ने अग्रज नेतृत्वप्रति पनि उनले सम्मान व्यक्त गरेका छन् । सर्वसम्मत चयनपछि आचार्यले आफूलाई विश्वास र समर्थन गर्ने क्षेत्रीय प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. १ बाँकेको सभापतिमा भएको सर्वसम्मत चयनले पार्टीभित्र सहमति, सहकार्य र एकताको सन्देश दिएको नेताहरूले बताएका छन् ।
