हरेक वर्षको तीजमा गाउँभरि जताततै रातो रङ्गको बाढी देखिन्छ । चुराको झन्झनाहट, बाजागाजाको ताल र गीतमा झुमिरहेका चेलीहरूको हाँसोले आकाशसम्म गुन्जन्छ । तर खजुराको एक घर भने यो रंगीन दृश्यबाट वर्षौंदेखि टाढिएको छ । त्यो घर हो, भावना मल्लको । दस वर्षअघि तीजको दिन नजिकिँदै गर्दा उनकी आमा आफ्नो भविष्यभन्दा पनि छोरीहरूको भविष्य उज्ज्वल होस् भनेर विदेशिएकी थिइन् । त्यसदिनदेखि भावनाको तीजमा आमाविनाको खालीपनले स्थान लिएको छ ।
पहिले तीज भन्ने बित्तिकै गाउँमा मात्र होइन, भावनाको घरमा पनि बेग्लै उत्साह हुन्थ्यो । आँगनमा दिदीबहिनी, आमा र आफन्त चेलीहरूको हाँसो गुन्जन्थ्यो । मामा घरको दर खान जाने, सामूहिक नाचगान गर्ने, बेलुकीसम्म गीत–संगीतको माहोल जमाउने । यी सबै तीजका अनिवार्य दृश्य थिए । ‘आमाको मायाले भरिएको दर, दिदीबहिनीको रमाइलो, बुबाको हाँसो, त्यो बेला तीजको अर्थ नै परिवारसँगको पुनर्मिलन थियो ।’ भावना सम्झिन्छिन् ।
दस वर्षयता, तीज आउँछ तर भावनाको घरमा त्यो उत्सवको रङ फिका हुन्छ । गाउँमा त अझै बाजागाजा र रातो लुगा फर्फराइरहेका हुन्छन्, तर उनको आँगनमा त्यो ताल हराइसकेको छ । आमा विदेशमा भए पनि तीजको दिन भिडियो कलमार्फत मात्रै देखिन्छन् । ‘फोनमा कुरा गर्दा आवाज त सुन्छु, तर त्यो अँगालोको गर्मी पाउँदिनँ । त्यो नै सबैभन्दा ठूलो कमी हो ।’ उनी भन्छिन् ।
घरमा अहिले भावना र उनकी कान्छी बहिनी मात्रै छन् । दिदी, बुबा र आमा आ–आफ्नो काम र जिम्मेवारीमा व्यस्त छन् । तीजमा परिवारको एकतामा हुने रमाइलो, आपसी सद्भाव र गीतगाउने परम्परा उनीहरूको लागि केवल सम्झनाको कुरा बनेको छ । ‘दुई बहिनी मात्रै हुँदा त्यो दिन खासै आएको जस्तो पनि लाग्दैन । अरूको घरमा देखिने चहलपहलले झन् हाम्रो खालीपन झल्काउँछ ।’ उनले सुनाइन् ।
भावनाका अनुसार, तीज नजिकिँदै गर्दा उनको मनमा मिश्रित भावनाहरू आउँछन् ।
‘जति सम्झिन्छु, मन अझै कमजोर हुन्छ । कहिलेकाहीँ गहभरि आँसु आउँछ, तर बहिनीको मन नदुखोस् भनेर आफूलाई सम्हाल्छु ।’ उनको यो अनुभव हजारौं नेपाली छोरीहरूको कथा पनि हो, जसका आमा–बुबा रोजगारीका लागि टाढा छन् । यद्यपि विगतको रमाइलो अझै सम्झनामा जीवित छ, भावनाले परिस्थिति स्वीकार्न सिकेकी छिन् । ‘अब बुझिसकेको छु, जीवनमा सबै कुरा मन अनुसार हुँदैन । जसको जस्तो कर्म छ, त्यसैमा सन्तोष मान्नुपर्छ ।’ उनी भन्छिन् ।
भावनालाई अझै पनि आशा छ । कुनै वर्ष तीजको बिहान आमाको अँगालो पाउँदै दिनको सुरुवात गर्ने अवसर आउनेछ । त्यो दिन फेरि घरमा बाजा बज्नेछ, दर पकाइनेछ, दिदीबहिनी नाच्नेछन्, र आँगनमा हाँसो भरिनेछ । त्यतिसम्मका लागि, उनी तीजको रंग अरूको आँगनमा देखेर आफ्नो सम्झनाको कोठामा सजाएर राख्छिन् । यो केवल एक छोरीको व्यक्तिगत अनुभव मात्र होइन, यो नेपाली समाजको एउटा ठूलो चित्र पनि हो । जहाँ हजारौं परिवार रोजगारीका लागि टाढा छन्, र चाडपर्वहरूको अर्थ भावनात्मक दूरीले परिवर्तन गरिदिएको छ ।
आरती कट्टेल

