‘मालती मंगले’ को प्रचार सुरु, पत्रकार सम्मेलनमा कलाकारहरूको उत्साह

कोहलपुर, बैशाख १३,

नेपाल चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा नेपाली फिल्म मालती मंगले सम्बन्धी पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा फिल्मका निर्माता तथा चर्चिक गायक राम कृष्ण ढकालले मालती मंगले नेपाली समाजको मौलिक कथा र परिवेशमा आधारित फिल्म भएको उल्लेख गरे । उनले फिल्म निर्माणका क्रममा भोगेका अनुभवहरू सुनाउँदै दर्शकले आफूलाई कथासँग सहज रूपमा जोड्न सक्ने विश्वास व्यक्त गरे । उनले भने,-‘हामीले नेपाली समाजका वास्तविक पक्षहरूलाई पर्दामा उतार्ने प्रयास गरेका छौँ, जसले दर्शकलाई भावनात्मक रूपमा छोइनेछ ।’ उनले फिल्मको कथा, टिमवर्क र निर्माण पक्षको प्रशंसा गर्दै सम्पूर्ण टिमले निकै मेहनत गरेको बताए ।

उनले दर्शकलाई फिल्म हेरेर आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै यो फिल्म मनोरञ्जनसँगै सन्देश पनि दिने खालको भएको बताए । पत्रकार सम्मेलनमा मुख्य कलाकार वर्षा राउतले आफ्नो भूमिकाबारे अनुभव सुनाउँदै यो फिल्म आफ्नो करियरका लागि विशेष रहेको बताइन् । यो भन्दा अघिका धेरै चर्चित फिल्ममा काम गरिसकेकी राउतले यस फिल्मका लागि पनि निकै राम्रो अभिनय तथा मेहेनत गरेको बताईन् । यस फिल्ममा दर्शकहरुले केही न केही नयाँपन पाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्,-‘मैले निभाएको पात्र भावनात्मक रूपमा निकै गहिरो छ। यसमा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ र दर्शकले पनि यसलाई मन पराउनेमा म विश्वस्त छु ।’

अर्का कलाकार मेक्सम गौडेलले पनि फिल्ममा काम गर्दा पाएको अनुभव साझा गर्दै आफूलाई नयाँ चुनौतीहरू सामना गर्न अवसर मिलेको बताए । उनले सह कलाकारसँगको सहकार्य र निर्देशकको मार्गदर्शनले आफ्नो अभिनयलाई अझ निखार्न मद्दत पुगेको उल्लेख गरे । कार्यक्रममा गायिका रितिका श्रेष्ठले ले फिल्मका गीत–संगीतबारे चर्चा गर्दै गीतहरू दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् । उनले संगीत पक्षले फिल्मको भावनालाई अझ बलियो बनाउने बताइन् ।

यसैबीच, कार्यक्रममा उपस्थित अन्य प्रोड्युसर तथा निर्माण टिमका सदस्यहरूले पनि फिल्मप्रति आशावादी रहेको जनाउँदै “मालती मंगले” नेपाली दर्शकका लागि नयाँ स्वाद र अनुभव दिने बताए । पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले फिल्मको कथा, निर्माण प्रक्रिया, कलाकारको तयारी र प्रदर्शन योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए । कलाकार तथा निर्माण टिमले ती प्रश्नहरूको जवाफ दिँदै फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

समग्रमा, कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो र फिल्म मालती मंगले प्रति दर्शक तथा सञ्चारकर्मीहरूमा सकारात्मक अपेक्षा देखिएको छ। मालती मंगले चलचित्र बैशाख २५ गतेदेखि देशभरका हलहरुमा प्रर्दशन हुँदैछ । कार्यक्रम संघका अध्यक्ष रामचन्द्र पौडेलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मी तिमिल्सेनाले गरेकी थिइन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !