कोहलपुर, बैशाख १०,
मध्यवर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै रणबम गण ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

राप्ती सोनारी गाउँपालिका कार्यालय सँगको सहकार्यमा गएको मंगलबार राप्ती सोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरबाट ६५६ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । शिविरमा नेपाली सेना सैनिक अस्पतालका विशेषज्ञ डाक्टरसहितको टोलीले आँखा, अर्थोपेडिक, जनरल तथा पाठेघरसम्बन्धी विभिन्न सेवाहरू प्रदान गरेको थियो । सेवाग्राहीमध्ये १९८ जना पुरुष र ४५८ जना महिला रहेका थिए ।
रणबम गणका गणपति प्रमुख सेनानी खिम बहादुर डाँगीका अनुसार दुर्गम तथा मध्यवर्ती क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिएको यस प्रकारको शिविरले ग्रामीण बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको प्रमुख सेनानी डागीले बताए।
शिविरमा आएका बिरामीहरूलाई स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । स्थानीयले विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै समयमै उपचारको पहुँच बढाउने विश्वास लिइएको छ। आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिँदै अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको जनाइएको छ।


