कोहलपुर, वैशाख ०८, प्रकृति प्रेमी
भरतपुरमा छन्द दिवसका अवसरमा छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनको १२ औँ वार्षिकोत्सबको दिन कृतिहरू लोकार्पण भएका हुन् | भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको प्रमुख आतिथ्यता एवम् छन्द काव्य प्रतिष्ठान नेपाल , चितवनका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैँडाकोट प्रज्ञाप्रतिष्ठानका कुलपति कविवर गोविन्दराज विनोदी, महाकाव्यकार, गजलविज्ञ केशवराज आमोदी एवम् कवि कल्पना अधिकारी विशिष्ट अतिथि रहेका थिए |
सो कार्यक्रममा कवि विदुर अधिकारीको नव काव्य ‘हे बुद्ध आऊ अब’ र कवि होमनाथ घिमिरेको खण्ढकाव्य ‘अग्निसागर’ तथा छन्द काव्य प्रतिष्ठान नेपाल, चितवनको संयुक्त कविता सङ्ग्रह ‘शिखरिणी -६’ मालिनी छन्द विषेशाङ्क समेतको लोकार्पण गरिएको हो | पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा कवि टङ्कराज आचार्य ‘तितेपाती’ शङ्खध्वनी बजाएका थिए | तथा संस्थाका उपाध्यक्ष राजेन्द्र घायलले कवितामार्फत् स्वागत गरेका थिए| वरिष्ठ समालोचक डा. धनेश्वर भट्टराई तथा सूर्यमणी रेग्मीले विमोचित दुई कृतिबारे समीक्षा गरेका थिए |
फोर सिजन पार्टी प्यालेस, शरदपुरमा सम्पन्न उक्त कार्यक्रममा प्रा. कपिल अज्ञात, केदारनाथ खनाल , शूर्यप्रकाश जमरकट्टेल, माल्दाइ न्यौपाने , उदय अधिकारी, रमेश प्रभात, किसान प्रेमी, शशिकिरण रेग्मी , शिवराज शर्मा लामिछाने , गोर्खे साइँलो, बलनाथ घिमिरे , सञ्जीव पौडेल , शिखरनाथ सुवेदी , हरिप्रिया रिजाल, तारानाथ सुवेदी लगायत करिब ६५ जनाको उपस्थिति रहेको थियो |
कृष्णप्रसाद पोखरेल, कल्पना अधिकारी भट्टराई , रसज्ञ छहरा, शोभा अधिकारी, प्रकाश चापागाईं, धनकुमारी रेग्मी,केदारनाथ खनाल, लकाश पौडेल, केशवराज आमोदी, विष्णु तिवारी ‘उषा’, गोविन्दराज विनोदी, स्मृति सापकोटा एवम् नायकद्वय स्रष्टा द्वय होमनाथ घिमिरे तथा विदुर अधिकारीले विमोचित कृतिबाट सुन्दर श्लोकहरू वाचन गरेका थिए| विष्णु तिवारी ‘उषा’ले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खनालले कवि माधव वियोगीद्वारा सुरु गरिएको छन्द बचाऊ अभियानले मुर्त रुप लिएको बताउँदै अब महाकाव्य लेख्नेहरूको छुट्टै महाकाव्यकार सम्मेलन गर्नुपर्ने धारणा व्यक्त गरे | कार्यक्रमको अध्यक्ष लकाश पौडेलले दुबै कृतिकारलाई बधाई दिँदै उपस्थितिका लागि सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै समापन गरे|

