कोहलपुर, पुष १,
बाँकेको कोहलपुरमा ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाइने भएको छ ।
बाँके इसाइ समाजका अध्यक्ष शेर बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाईने जानकारी जानकारी दिईएको हो । कार्यक्रमका अध्यक्ष बोहोराले येशू ख्रीष्टले मानव समाजलाई प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको मार्ग देखाएको उल्लेख गर्दै क्रिसमस पर्वले समाजमा सकारात्मक सोच र भाइचारा फैलाउने विश्वास व्यक्त गरे । उनले सबै समुदायलाई आपसी सम्मान र सहअस्तित्वका साथ अघि बढ्न आग्रह गरे ।
कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रम व्यवस्थापक नोखराज रावतले पुष २ गते बुधबार बिहान १० बजेदेखि कोहलपुरको न्यूरोडदेखि विद्युत रोड हुँदै पुनः न्यूरोडमै कोणसभा गरिने बताए । सो अवसरमा बृहत ¥याली निकालिने र कोण सभा गर्दै विभिन्न समुदायको साँस्कृतिक प्रस्तुती रहने जानकारी दिए । कोहलपुर इसाइ समाजका अध्यक्ष पास्टर बालकृष्ण विश्वकर्माले ख्रिष्टमस पर्व केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता र सेवाको सन्देश बोकेको पर्व भएको बताए ।
उनले कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला इसाइ समाजका उपाध्यक्ष पास्टर नन्दलाल घर्तीकोसमेत विशेष उपस्थिती रहने जानकारी दिइएको छ । साथै कार्यक्रममा यहाँका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ । क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोहलपुरमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र स्वच्छताको सन्देश प्रवाह गरिने आयोजकको विश्वास छ ।


