कोहलपुर, माघ १५,
बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. जनताको व्यापक समर्थनसहित चुनावी मैदानमा मजबुत उपस्थिति जनाइरहेका छन् ।
गाउँ–गाउँ र टोल–टोलमा पुगेका जि.एम.को अभियानले चुनावी माहोल तताएको छ । बैजनाथ गाउँपालिका–५ निवासी दीपक जि.एम. स्थानीय परिवेशमै हुर्किएका, समाजका समस्या नजिकबाट बुझेका युवा राजनीतिज्ञ हुन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा युवा संघ नेपालको केन्द्रीय महासचिव हुँदै राष्ट्रिय राजनीतिसम्म फैलिएको छ । यही अनुभवका साथ उनी अहिले बाँके–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा तत्कालीन ओली सरकारले स्कुल युनिफर्ममै रहेका ७६ जना विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा जि.एम.ले निर्भीक रूपमा विद्यार्थीहरूको पक्षमा आवाज उठाएका थिए । राज्यको दमनविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने नेताका रूपमा उनले अलग पहिचान बनाएका छन् ।
युवाको नेतृत्व गर्ने स्थानीय उम्मेदवारका रूपमा परिचित जि.एम. आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके–३ मा जित सुनिश्चित गर्ने आधार तयार भइसकेको दाबी समर्थकहरू गर्छन् । जनजाति समुदायका छोरा तथा शिक्षित युवा नेतृत्वका रूपमा जि.एम. अबको राजनीतिक परिवर्तनको केन्द्र आफूहरू हुने विश्वास व्यक्त गर्दै आएका छन् ।
चुनावी प्रचारका क्रममा घरदैलो अभियानलाई प्राथमिकता दिएका जि.एम.ले स्थानीय समस्या प्रत्यक्ष सुन्ने, प्राथमिकता निर्धारण गर्ने र समाधानका लागि संसदमा बलियो आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । प्रचारप्रसार संयोजक सुशील लामिछानेका अनुसार, “जनताको पक्षमा नडगमगिने नेतृत्व दिने हाम्रो साझा अभियान हो ।” स्थानीय जनताको दुःख–सुखमा सँगै उभिने, युवाको आवाज संसदसम्म पु¥याउने र बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका लागि संघर्ष गर्ने अठोटका साथ दीपक जि.एम. जिततर्फ अघि बढिरहेको स्थानीयहरूको धारणा छ ।

