कोहलपुर, माघ २०,
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा अवस्थित न्यु वीरेन्द्र युवा क्लबको आयोजनामा सञ्चालन हुने पाँचौँ ‘द फोर्स कप’ खुल्ला फुटबल प्रतियोगिता–२०८२ यही माघ २६ गतेदेखि सुरु हुने भएको छ ।
स्थानीय युवाको खेलकुद प्रतिभा उजागर गर्ने, स्वस्थ प्रतिस्पर्धा विकास गर्ने तथा खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगितामा जिल्ला तथा जिल्लाबाहिरका विभिन्न बलिया क्लबहरूको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । प्रतियोगिताको मिडिया पार्टनरको रूपमा गोल नेपाल डट कम रहनेछ । नेपाली फुटबल क्षेत्रमा स्थापित मिडिया गोलनेपालको सहकार्यले प्रतियोगितालाई राष्ट्रियस्तरमा समेत चिनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
न्यु वीरेन्द्र युवा क्लबको कार्यसमिति अनुसार प्रतियोगिता सफल पार्न अध्यक्ष कान्छा लामा तामाङको नेतृत्वमा तयारी तीव्र पारिएको छ । क्लबका उपाध्यक्ष सञ्जु कुमारी तामाङ र सचिव मोन्चा तामाङसहित सम्पूर्ण कार्यसमिति तथा स्वयंसेवकहरू व्यवस्थापन, प्रचार–प्रसार र समन्वयमा सक्रिय रूपमा जुटिरहेका छन् । आयोजकले खेलप्रेमी दर्शक, स्थानीयवासी, खेलकुदकर्मी तथा सरोकारवाला निकायलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाइदिन आग्रह गरेको छ ।
पुनर्वास क्षेत्रमा फुटबलप्रतिको बढ्दो आकर्षणलाई थप ऊर्जा दिने विश्वाससहित आयोजना हुन लागेको पाँचौँ ‘द फोर्स कप’ खुल्ला फुटबल प्रतियोगिताले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

