कोहलपुर, ८ फागुन,
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जि एमले पश्चिम नेपालको महत्वाकांक्षी योजना नौवस्ता औद्योगिक क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
जि एमले उक्त औद्योगिक क्षेत्रलाई छिटोभन्दा छिटो सुचारु गर्दै स्थानीय तहमा युवाहरुलाई व्यापक रोजगारी सिर्जना गर्ने योजना रहेको स्पष्ट पारे। उनका अनुसार बाँके क्षेत्र नम्बर ३ को आर्थिक समृद्धि र औद्योगिक विकासका लागि नौवस्ता औद्योगिक क्षेत्र महत्वपूर्ण आधार बन्न सक्छ। नेपाल सरकारले २०७२ सालमा स्थापना प्रक्रिया सुरु गरेको यस औद्योगिक क्षेत्रमा प्रारम्भमा ३३८ बिघा जग्गा दर्ता गरिएको थियो। तर पछि स्थानीय वस्ती व्यवस्थापन, सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारका लागि जग्गा छुट्याउँदा क्षेत्रफल घटेको थियो।
उम्मेदवार जि एमले औद्योगिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण तयार गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, “नौवस्ता औद्योगिक क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके हजारौं युवालाई रोजगारीसँग जोड्न सकिन्छ। यसले बाँकेको आर्थिक रूपान्तरणमा ठूलो टेवा पुर्याउनेछ।” बाँके क्षेत्र नम्बर ३ को दिगो विकास र आर्थिक उन्नतिका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उनले आम मतदातालाई सहयोग र समर्थनको अपिल गरेका छन्।

