कोहलपुर, फागुन २१,
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर मतदान जारी रहँदा बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदाताहरूको उल्लेख्य र उत्साहपूर्ण सहभागिता देखिएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ । मतदान सुरु भएलगत्तैदेखि नै केन्द्रमा मतदाताहरूको भीड देखिएको छ । बिहानैदेखि मत हाल्न आउने मतदाताहरूको लामो लाइन लागेको दृश्य देखिएको छ । युवा, महिला तथा वृद्ध मतदाताहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ । मतदान केन्द्रमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था गरिएको छ ।

उनीहरूलाई प्राथमिकता दिएर मतदान गर्न सहज बनाइएको छ भने मतदान केन्द्रका कर्मचारीहरूले आवश्यक सहयोग गरिरहेका छन् । सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, निर्वाचन प्रहरी लगायतका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । उनीहरूको उपस्थितिका कारण मतदान केन्द्रको वातावरण सुरक्षित र व्यवस्थित देखिएको छ । यो समाचार तयार पार्दासम्म यस मतदान केन्द्रमा १७४७ मत खसिसकेको छ । निर्वाचन अधिकृत प्रशान्त घिमिरेका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ । अधिकृत घिमिरेले ‘ङ’ केन्द्रमा करिब १०ः४५ बजेको समयसम्म २३५ मतदाताले मत दिएको जानकारी दिए ।

मतदान निकै राम्रोसँग भइरहेको र मतदाताहरूको सहभागिता उत्साहजनक देखिएको उनले बताए । निर्वाचन अधिकृत उदिप श्रेष्ठले आफ्नो मतदान केन्द्रमा उनले जानकारी दिएको समयसम्म २४४ मत खसेको बताए । उनले आवश्यक सबै व्यवस्थापन गरिएको जानकारी दिए । उनले भने,–‘मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ । मतदाताहरू निर्धक्क भएर मतदान गरिरहेका छन् ।’

मतदान गर्न आएका मतदाताहरूले पनि उत्साहका साथ आफ्नो मत प्रयोग गरेका छन् । मतदाता दिलिप सोनीले आगामी पाँच वर्षमा देशले सकारात्मक परिवर्तन देख्ने अपेक्षासहित आफूले मतदान गरेको बताए । ‘अबको पाँच वर्षमा देशले मुहार फेर्ने आशा छ । त्यसैले जिम्मेवारीपूर्वक आफ्नो मत प्रयोग गरेको हुँ ।’ उनले भने ।

यसैगरी मतदाता हर्क चन्दले यसअघि वैदेशिक रोजगारीमा रहेका कारण अघिल्ला निर्वाचनमा मतदान गर्न नपाएको स्मरण गर्दै यसपटक भने निकै उत्साहित भएर मतदान गरेको बताए । ‘अघिल्ला निर्वाचनमा म विदेशमा भएकाले भोट हाल्न पाएको थिइन । अहिले जीवनको पहिलो र अमूल्य भोट देश परिवर्तनको अपेक्षासहित दिएको छु ।’ उनले भने ।

निर्वाचनमा खटिनु भएका वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले मतदान केन्द्रमा राम्रो व्यवस्थापन गरिएको बताए । उनका अनुसार मतदाता परिचयपत्र जाँच गर्ने, मतपत्र वितरण गर्ने र गोप्य रूपमा मतदान गर्ने व्यवस्था व्यवस्थित रूपमा गरिएको छ । ‘मतदान प्रक्रिया निकै व्यवस्थित र सहज छ । मतदाताहरूलाई कुनै समस्या नहोस् भनेर सबै व्यवस्था मिलाइएको छ । अहिले भोटर कार्डले मात्रै नभई आफ्नो परिचय खुल्ने जुनसुकै सरकारी कागजातहरुले पनि भोट हाल्न मिल्लेछ । जस्तै नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी अनुमति पत्रले पनि मताधिकार प्रयोग गर्न मिल्ने छ ।’

मतदाता परिचयपत्र जाँच गरी मात्र मतदातालाई मतपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ । त्यसपछि मतदाताहरूले गोप्य मतदान कक्षमा गएर आफ्नो मत प्रयोग गरिरहेका छन् । हालसम्म मतदान प्रक्रियामा कुनै विवाद, झडप वा अवरोधको घटना नभएको बताइएको छ । मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको छ । निर्वाचन अधिकृतहरूका अनुसार दिनभर मतदाताहरूको सहभागिता निरन्तर रहने अपेक्षा गरिएको छ । समग्रमा बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्ण मतदान भइरहेको छ भने मतदाताहरूको सक्रिय सहभागिताले निर्वाचनप्रति जनताको चासो र अपेक्षा प्रष्ट देखिएको छ ।

