मगर पहिचान झल्काउँदै बाँकेमा प्रथम सांस्कृतिक महोत्सव, राष्ट्रिय कलाकारहरूको धमाका

कोहलपुर बैशाख १,

बाँके जिल्लामा मगर समुदायको मौलिक पहिचान झल्काउने ऐतिहासिक सांस्कृतिक माहोल सिर्जना भएको छ।

“मगर इतिहास, भाषा, संस्कृति संरक्षण–संवर्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नारासहित नेपाल मगर सङ्घ बाँकेद्वारा सञ्चालित प्रथम सांस्कृतिक भेषभुषा तथा खानपान महोत्सव–२०८३ अहिले उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। चैत्र ३० गते भव्य उद्घाटनसँगै सुरु भएको उक्त कार्यक्रममा मगर समुदायका मौलिक भेषभुषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रमले विशेष आकर्षण थपेको छ।

उद्घाटन समारोह नेपाल मगर सङ्घ बाँके जिल्ला समन्वय समिति अध्यक्ष भूपेन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश लेखा समिति संयोजक माननीय माया पुन मगरले दीप प्रज्वलन गर्दै महोत्सवको औपचारिक उद्घाटन गरेकी थिइन् । उनले मगर समुदायको भाषा, संस्कृति र पहिचान जगेर्ना गर्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउँदै राज्यले पनि संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्।

महोत्सवको पहिलो दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । गायिका देवी घर्ती मगर, गायक विवस घर्ती मगर र गायक छवि घर्ती मगरले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाएका थिए । कार्यक्रमस्थलमा उपस्थित दर्शकहरूले सांस्कृतिक उत्सवलाई अझ जीवन्त बनाएको देखिन्थ्यो।

दोस्रो दिन आज पनि कार्यक्रम झन् आकर्षक बन्ने आयोजकले जनाएका छन् । विशेषगरी राष्ट्रिय कलाकार मिलन लामा र जानकी तारामी मगरको प्रस्तुति रहने भएपछि दर्शकमा थप उत्साह देखिएको छ। महोत्सवमा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य डम्बर थापा मगर, मेला व्यवस्थापक अजय पुन मगर, मेला संयोजक लक्ष्मण पुन मगर ईलाका प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब उपरीक्षक चक्त बहादुर डमरपाल, जिल्ला ट्राफिक कार्यालय प्रमुख कनक शाही, ईलाका प्रशासन कार्यालय प्रमुख अन्तिम सिंजाली लगायत मगर समुदायका अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

समग्रमा, मगर समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले स्थानीय स्तरमा मात्र होइन, समग्र देशभर मगर समुदायको सांस्कृतिक धरोहरलाई उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। साथै, नयाँ वर्ष २०८३ को अवसरमा आयोजित यो कार्यक्रमले आपसी सद्भाव, एकता र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !