कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

कोहलपुर बैशाख १८,

कोहलपुरमा सञ्चालन हुन लागेको “कोहलपुर गोल्ड कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

रेसिङ सहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिगाह खेलमैदानमा सञ्चालन हुने छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको टाइसिट खेल तालिका सार्वजनिक गर्दै आयोजकले सहभागी टिमहरू र तयारीबारे जानकारी दिएको हो। प्रतियोगितामा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित क्लबहरूसँगै विदेशी टोलीहरूको पनि सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब कोहलपुर बाँके, पञ्चकोशी युवा क्लब सुदूरपश्चिम, लालीगुराँस एसोसिएसन क्लब पोखरा, सातदोबाटो युवा क्लब ललितपुर, जस्ट जोन एफसी नाइजेरिया, रोयल फुटबल क्लब कर्णाली, राइजिङ स्टार क्लब नवलपरासी, तथा विभागीय टिम नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लब सुदूरपश्चिम बीच हुनेछ। सेमिफाइनल खेल वैशाख २३ र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार खेल मैदान, आवास, सुरक्षा तथा दर्शक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आवश्यक सबै पूर्वाधार तथा समन्वयका काम सम्पन्न गरिएको उनले बताए।

उनका अनुसार यस पटक दर्शकहरूले पहिलो पटक प्याराफिटमा बसेर खेलको आनन्द लिन पाउनेछन् । साथै, सम्पूर्ण खेलहरू निःशुल्क हेर्न पाइने व्यवस्था गरिएको छ। आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने अपेक्षा व्यक्त गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !