कोहलपुर, बैशाख २०,
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल अविरल वर्षाका कारण स्थगित गरिएको छ।
जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली बीच भइरहेको खेल ३७औँ मिनेटमा वर्षा सुरु भएपछि रोकिएको हो । खेल स्थगनअघि पहिलो हाफमा एक गोल गर्दै नाइजेरियाली टोलीले अग्रता बनाएको थियो । स्थगित खेल भोलि बिहान ८ बजे पुनः सञ्चालन गरिने छ ।
वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ । साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ ।
प्रतियोगितामा ए डिभिजन लिग मान्यता प्राप्त ८ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरूमा आयोजक रेसिङ सहारा क्लब कोहलपुर, पञ्चकोशी युवा क्लब ९सुदूरपश्चिम०, लालीगुराँस एसोसिएसन क्लब ९पोखरा०, सातदोबाटो युवा क्लब ललितपुर, जस्ट जोन एफसी नाइजेरिया, रोयल फुटबल क्लब ९कर्णाली०, राइजिङ स्टार क्लब ९नवलपरासी० र विभागीय टोली नेपाल पुलिस क्लब रहेका छन्।

