कोहलपुर, बैशाख २१,
बाँकेको कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियाली टोली जस्ट जोन एफसीले प्रभावशाली जित दर्ता गरेको छ।
प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी नाइजेरियाले रोयल फुटबल क्लब कर्णालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआतलाई निरन्तरता दिएको हो । वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन खेल भइरहेका बेला मौसमले खेलमा बाधा पुर्यायो । कोहलपुर–२ स्थित फुटबल रंगशालामा जारी खेल ३७औँ मिनेटमा वर्षाका कारण स्थगित गर्नुपरेको थियो । त्यसबेला जस्ट जोन एफसी १–० गोलले अघि थियो । टोलीका जर्सी नम्बर ९ हम्जात डिमोलाले २९औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।
स्थगित खेल वैशाख २१ गते बिहान पुनः सञ्चालन हुँदा जस्ट जोन एफसीले आफ्नो लय कायम राख्दै ४–२ को जित निकालेको हो । दोस्रो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । त्यसपछि रोयल फुटबल क्लबका सन्दीप देउवाले ४९औँ मिनेटमा गोल फर्काउँदै खेललाई २–१ मा ल्याए । तर, नाइजेरियाली टोलीले दबाब कायम राख्दै ५२औँ मिनेटमा ओवालाही अफिजमार्फत तेस्रो गोल गर्यो । खेल रोमाञ्चक बन्दै जाँदा ५५औँ मिनेटमा विक्रम ओलीले गोल गर्दै कर्णालीलाई ३–२ मा नजिक ल्याए । तर अन्तिम समयमा, खेलको ९०औँ मिनेटमा ताजुदिन एडीले निर्णायक गोल गर्दै जस्ट जोन एफसीको जित सुनिश्चित गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका हम्जात डिमोला ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार लुम्बिनी खेलकुद परिषद्का सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही तथा प्रतियोगिताका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रूपमा प्रदान गरेका थिए । यसअघि उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले हराउँदै सुखद सुरुआत गरेको थियो । वैशाख २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।

