राप्ती नदीमा संयुक्त खोज तथा उद्धारको बृहत कृत्रिम मनसुन अभ्यासको छैटौं संस्करण सफलतापूर्वक सम्पन्न

कोहलपुर, जेठ १४,

बाँके जिल्लामा æजिल्लास्तरीय एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास मनसुनको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका–५ स्थित सिधनिया घाट, राप्ती नदी क्षेत्रमा कृत्रिम मनसुन अभ्यास गरिएको थियो । कृत्रिम खोज तथा उद्धार अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, नेपाली सेनाको अस्पताल नेपालगञ्ज, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहका स्वयंसेवकसहित १५० भन्दा बढी उद्धारकर्मीहरूको सहभागिता रहेको थियो । गत जेठ ११ गतेबाट सुरु भएको अभ्यास जेठ १४ गते प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, श्री नम्बर ४ बाहिनी अड्डाका सहायक बाहिनीपति सुवास केसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा विपद्सँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरूको अवलोकनपछि औपचारिक रूपमा समापन गरिएको हो ।

अभ्यासको मुख्य उद्देश्य मनसुन सुरु हुनुअघि सम्भावित बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूबीच आपसी समन्वय, सहकार्य तथा क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै मनसुनजन्य विपद्ले विशेषगरी लुम्बिनी प्रदेशलाई प्रत्येक वर्ष प्रभावित पार्दै आएको छ । विश्व मौसम विज्ञान संगठन र दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्चको पछिल्लो विश्लेषणअनुसार यस वर्ष सामान्यभन्दा कम वर्षा भए पनि छोटो अवधिमा अत्यधिक वर्षा हुने सम्भावना उच्च रहेकोले पूर्वतयारी अत्यन्त आवश्यक रहेको जानकारी गराइएको थियो ।

अभ्यासका क्रममा विभिन्न खोज तथा उद्धारका आधुनिक तथा स्थानीय स्रोतमा आधारित प्रविधिहरू प्रदर्शन गरिएको थियो । राप्ती नदीमा आएको काल्पनिक बाढीको दृश्य सिर्जना गर्दै डुबानमा फसेका नागरिकहरूको उद्धार, पानीको तीव्र बहावमा रबर बोट पल्टिएको अवस्थामा गरिने ‘फ्लिप ड्रिल’, लाइफ ज्याकेट, थ्रो ब्याग, लाइफ ब्वाय, रबर ट्युब तथा स्थानीय स्रोत साधन प्रयोग गरेर गरिने उद्धार अभ्यास गरिएको थियो । स्थानीयस्तरमा उपलब्ध गाग्री, बोतल, केराको थाम, ट्युब तथा म्याट्रेसजस्ता सामग्री प्रयोग गरी कसरी आफ्नो ज्यान जोगाउन सकिन्छ भन्ने विषयमा समेत प्रदर्शन गरिएको थियो । आयोजकका अनुसार विपद्को समयमा उद्धार टोली पुग्न ढिलो भएमा स्थानीय स्रोत साधनकै प्रयोगबाट प्रारम्भिक उद्धार सम्भव हुने भएकाले समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो ।

अभ्यासमा बाढी तथा डुबानमा फसेका व्यक्तिहरूलाई रबर बोटमार्फत सुरक्षित स्थानमा ल्याउने, नदीको टापुमा अलपत्र परेकाहरूको उद्धार गर्ने तथा नदीमा हराएका व्यक्तिको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको थियो। गोताखोरहरूले अत्याधुनिक डाइभिङ सुट, सिलिन्डर, मास्क लगायतका उपकरण प्रयोग गरी पानीभित्र खोजी कार्य प्रदर्शन गरेका थिए । त्यसैगरी पुलमाथिबाट डोरीको सहायताले गरिने ¥यापलिङ उद्धार, हाई लाइन रेस्क्यु, अन्डर–ओभर वाटर रिभर क्रसिङ ड्रिल तथा ओभर वाटर रिभर क्रसिङ ड्रिल समेत प्रस्तुत गरिएको थियो । ती अभ्यासमार्फत तीव्र बहाव भएको नदीमा कसरी सुरक्षित रूपमा उद्धार तथा आवतजावत गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो ।

हाई लाइन रेस्क्यु अभ्यासमा खोलाको खोचमा फसेका व्यक्तिलाई डोरी, हार्नेस र क्यारेबिनरको प्रयोग गरी सुरक्षित स्थानमा ल्याइएको थियो भने ओभर वाटर रिभर क्रसिङ अभ्यासमा बाढीले बगाएको शव तथा अन्य व्यक्तिहरूलाई नदी पार गराएर सुरक्षित स्थानमा पु¥याउने प्रक्रिया प्रदर्शन गरिएको थियो । उद्धारपछि घाइतेहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गर्ने, स्ट्रेचरमार्फत मेडिकल पोइन्टसम्म पु¥याउने तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य सेवाको अभ्यास समेत गरिएको थियो । कार्यक्रममा मेडिकल टिमले प्राथमिक उपचार, कार्डियो पल्मोनरी रिससिटेसन -सीपीआर) तथा क्यासुअल्टी स्क्रिनिङसम्बन्धी डेमो पनि प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सहभागी सुरक्षा निकायहरूले विपद्को समयमा æफस्र्ट रेस्पोन्डरÆ को भूमिकामा रहेर जनधनको क्षति न्यूनीकरण गर्न यस्ता अभ्यास अत्यन्त प्रभावकारी हुने बताएका थिए । अभ्यासका क्रममा प्रस्तुत गरिएका सबै घटना काल्पनिक भए पनि वास्तविक विपद्को घडीमा जीवन बचाउने महत्वपूर्ण उपायका रूपमा उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरूले मेडिकल डेमो अवलोकन गर्नुका साथै सामूहिक तस्बिर सेसनमा सहभागिता जनाएका थिए । आयोजकले आगामी दिनमा पनि यस्ता संयुक्त विपद् प्रतिकार्य अभ्यासलाई निरन्तरता दिइने जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर