राप्ती नदीमा बाढीले टापुमा फसेका तीन जनाको संयुक्त उद्धार

कोहलपुर, असार २६,

राप्ती सोनारी गाउँपालिका–२, लालपुरस्थित राप्ती नदीमा माछा मार्न गएका छ जना स्थानीयमध्ये तीन जना अचानक आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

 

उद्धार गरिएका व्यक्तिहरू राप्ती सोनारी गाउँपालिका–४ का टिकाराम थारु, मनि थारु र समि दयाल थारु रहेका छन्। उनीहरू माछा मार्ने क्रममा नदीमा एक्कासि पानीको बहाव बढेपछि ज्यान जोगाउन नदीको बीचमा रहेको टापुमा पुगेका थिए। केहीबेरमै चारैतर्फबाट बाढीको पानीले घेरेपछि उनीहरूको ज्यान जोखिममा परेको थियो।

घटनाबारे नेपाल प्रहरीमार्फत सूचना प्राप्त हुनासाथ नेपाली सेनाको श्री बज्रदल गणबाट सहसेनानी किरण पोखरेलको कमाण्डमा ३१ सदस्यीय खोज तथा उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट तीनै जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

उद्धार अभियान सम्पन्न भएपछि उद्धार टोलीले घटनास्थलमा भेला भएका स्थानीय बासिन्दालाई वर्षायाममा नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले अनावश्यक जोखिमपूर्ण गतिविधि नगर्न, नदी किनार तथा नदीभित्र प्रवेश गर्दा विशेष सावधानी अपनाउन र विपद्को अवस्थामा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !