शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना, पश्चिम राप्ती र चुरे क्षेत्रका खोला सतर्क रहन आग्रह

कोहलपुर, असोज ८,

मनसुनी गतिविधि सक्रिय बनेसँगै नेपालका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबार र शनिबार देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । विभागका अनुसार लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावनासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, स्थानीय क्षेत्रमा डुबान तथा पहिरोको जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रमेश अवस्थीका अनुसार शुक्रबार र शनिबार विशेषगरी अपराह्नपछि वर्षाको गतिविधि बढ्न सक्ने सम्भावना रहेको छ ।

यस अवधिमा पश्चिम राप्ती नदी तथा चुरे भएर बहने खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । अवस्थीले पश्चिम राप्ती र चुरे क्षेत्र भएर बहने खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै वर्षाको समयमा खोला तथा नदीको किनारमा नजान र जोखिमपूर्ण अवस्थामा खोला तर्ने कार्य नगर्न सुझाव दिएका छन् ।

उनका अनुसार पछिल्लो मौसम अवस्थाका आधारमा वर्षाको जोखिम मध्यमदेखि उच्च हुन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढीसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन आवश्यक छ। जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी पूर्वानुमान निरन्तर अद्यावधिक हुने भएकाले विभागबाट जारी हुने पछिल्लो सूचना तथा पूर्वानुमान हेरेर मात्र आवश्यक निर्णय लिन समेत अनुरोध गरेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !