कोहलपुर, असोज ८,
आगामी दिनमा हुन सक्ने भारी वर्षा तथा त्यसबाट निम्तिन सक्ने बाढी, डुबान र अन्य विपद्का घटनालाई मध्यनजर गर्दै बाँकेमा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर छलफल तथा समन्वय भइरहेको छ । मौसमको अवस्था र सम्भावित जोखिमबारे नियमित रूपमा सूचना अद्यावधिक गर्ने तथा आवश्यकताअनुसार प्रतिकार्य योजना अघि बढाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मनसुन कमाण्ड पोस्टमा विपद्सँग सम्बन्धित काम गर्ने सरोकारवाला निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग छलफल निरन्तर भैरहेको छ । छलफलमा सम्भावित विपद्का घटना न्यूनीकरण, तत्काल उद्धार तथा राहत व्यवस्थापन र स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।
यस्तै, जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेर सम्भावित जोखिम र सुरक्षा व्यवस्थापनबारे छलफल भैरहेको छ । जिल्लाका सबै विषयगत निकायसँग समेत बिहान ११ बजे समन्वयात्मक छलफल गरी आवश्यक तयारी र जिम्मेवारीबारे जानकारी गराउने व्यवस्था मिलाइएको छ । सम्भावित विपद्का घटनामा तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ । खोज तथा उद्धारका लागि आवश्यक सामग्री तथा उपकरणको व्यवस्थापनसमेत तीव्र पारिएको छ ।
विशेषगरी राप्ती सोनारी गाउँपालिकालगायत जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धारका सामग्रीहरू प्रि–पोजिसनमा राखिएको छ। विपद् भएलगत्तै आवश्यक जनशक्ति तथा सामग्री परिचालन गर्न सकिने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् कमाण्ड पोष्टका अध्यक्ष तामाङले जानकारी दिएका छन् । यसैबीच, बाढी तथा डुबानको उच्च जोखिममा रहेका बस्ती र स्थानको पहिचान गरी आवश्यकताअनुसार जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको छ । जोखिम क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा लैजान स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायबीच समन्वय भइरहेको छ ।
जिल्ला प्रशासनले मौसमको पछिल्लो अवस्थाबारे निरन्तर सूचना अद्यावधिक गरिरहेको जनाउँदै सर्वसाधारणलाई मौसमसम्बन्धी सूचना तथा प्रशासन र स्थानीय तहबाट जारी हुने पूर्वसूचनालाई ध्यान दिन आग्रह गरेको छ । सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
