कोहलपुर, असोज ११,
न्यून चापीय प्रणालीको प्रभावका कारण पछिल्ला चार दिनदेखि लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
जल तथा मौसमसम्बन्धी विवरणअनुसार लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची तथा पश्चिम नवलपरासीमा असोज १० र ११ गते अतिभारी वर्षा भएको छ । ती क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । प्रदेशका अधिकांश मौसम केन्द्रमा वर्षा मापन भएको छ ।
निरन्तरको वर्षासँगै असोज १० र ११ गते लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरीसमेत चलेको थियो । भारी वर्षाका कारण तिनाउ र बाणगंगा नदी जलाधार तथा बाँकेको करिन नाला, प्युठानको माडीखोला, रोल्पाको लुङ्ग्री खोला, गुल्मीको बडीगाड, पाल्पाको डुम्रेखोला र कपिलवस्तुको कोठी नदीमा जलसतहले सतर्कता तह पार गरेको थियो । त्यस्तै गुल्मीको रिडीखोला, प्युठानको झिम्रुक, झिनजरी खोला, मानखोला, बाँकेलगायत बबई, पश्चिम राप्ती, कर्णाली तथा अन्य नदीहरूमा समेत जलसतह उल्लेख्य रूपमा बढेको जनाइएको छ ।
निरन्तर वर्षा र नदीको जलसतह बढिरहेका कारण नदी तथा खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन तथा मौसम र जलसतहसम्बन्धी पछिल्ला सूचना निरन्तर अनुगमन गर्न आग्रह गरिएको छ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रमेश अवस्थीले जानकारी दिए ।
