कोहलपुर, असोज १९,
कोहलपुरको थापा पोलिक्लिनिकमा भएको भनिएको घटनाले यतिबेला स्वास्थ्यकर्मीमाथि लागेको आरोप र त्यसको अनुसन्धानसँगै अर्को गम्भीर प्रश्न पनि खडा गरेको छ । घटना बाहिर ल्याउने क्रममा पीडित भनिएकी युवतीकै गोपनीयताको ख्याल किन गरिएन ? पोलिक्लिनिकभित्र भएको भनिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि युवतीको अनुहार प्रस्ट देखिएको छ । संवेदनशील प्रकृतिको घटनामा सम्बन्धित व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने सामान्य मान्यता हुँदाहुँदै भिडियो सार्वजनिक गर्ने क्रममा अनुहारसम्म नछोपिनुले अहिले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ प्रश्न उठाएको हो ।
गलत भएको कुरा बाहिर आउनुपर्छ । अन्याय भएको भए त्यसविरुद्ध आवाज उठ्नुपर्छ । दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्छ । तर न्यायको खोजीमा कसैको व्यक्तिगत गोपनीयता र भविष्यलाई जोखिममा पार्ने अधिकार कसैलाई हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । घटनामा युवतीले प्रहरीसमक्ष जाहेरी दिइसकेको बताइएको छ । अर्थात् विषय अब अनुसन्धान गर्ने निकायसम्म पुगिसकेको छ । यस्तो अवस्थामा घटनाको सत्यतथ्य प्रमाण, बयान र अनुसन्धानबाट बाहिर आउनुपर्ने हो । सामाजिक सञ्जालमा भिडियो भाइरल बनाएर सार्वजनिक बहसमा ल्याउनु मात्र न्यायको बाटो होइन ।
अझ गम्भीर कुरा त के छ भने, भिडियो एकपटक इन्टरनेटमा पुगेपछि त्यसलाई पूर्ण रूपमा हटाउन सम्भव हुँदैन । आज केही हजार वा लाख मानिसले हेरेको दृश्य भोलि फेरि अर्को प्लेटफर्ममा पुग्न सक्छ । त्यसको असर केही दिन वा केही महिनामा मात्र सीमित नहुन सक्छ । २२ वर्षीया युवतीको अनुहार स्पष्ट रूपमा सार्वजनिक भयो भने त्यसको असर भोलि उनको व्यक्तिगत जीवन, परिवार, रोजगारी, सामाजिक सम्बन्ध र मानसिक अवस्थासम्म पुग्न सक्छ । त्यसको जिम्मेवारी कसले लिने ? घटना हुँदा आफू असुरक्षित भएको महसुस गरेकी युवतीले प्रहरीमा उजुरी गर्नु कानुनी प्रक्रिया हो । उनले प्रहरीमा जाहेरी दिएकी पनि छन् । त्यसपछि घटनासँग सम्बन्धित प्रमाण अनुसन्धान गर्ने निकायलाई उपलब्ध गराएर सत्यतथ्य पत्ता लगाउनु नै उचित बाटो हो ।
घटनासँग जोडेर विगतका वर्षमा भएका भनिएका अन्य विषयसमेत सार्वजनिक रूपमा उठाइँदै छन् । यदि त्यस्ता घटना भएका हुन् भने त्यसको प्रमाण सम्बन्धित निकायलाई दिएर अनुसन्धानमा सहयोग गर्न सकिन्छ । १९५ भन्दा बढी देशका मानिसले हेर्न सक्ने सामाजिक सञ्जालमा मोबाइल अगाडि बसेर आरोप लगाउनु र अनुसन्धान गर्ने निकायसमक्ष प्रमाण प्रस्तुत गर्नु एउटै कुरा होइन । त्यसैले प्रश्न युवतीले किन भिडियोमा बोलेकी, किन नबोलेकी वा कसरी प्रस्तुत भइन् भन्ने मात्र होइन । उनको अनुहार सार्वजनिक गर्ने निर्णय कसले गर्यो रु सार्वजनिक गर्दा त्यसको दीर्घकालीन असरबारे कसैले सोच्यो कि सोचेन रु भन्ने पनि हो ।
कुनै व्यक्तिमाथि यौन दुर्व्यवहार भएको आरोप लाग्नु गम्भीर विषय हो । आरोप सही ठहरिए दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्छ । तर अनुसन्धान पूरा नहुँदै सामाजिक सञ्जालबाट फैसला सुनाउने प्रवृत्ति पनि त्यत्तिकै जोखिमपूर्ण हुन्छ । पीडित भनिएकी युवतीलाई न्याय दिलाउने नाममा उनको अनुहार, व्यक्तिगत विवरण र घटनाका संवेदनशील दृश्यहरू सार्वजनिक गर्नुले कतै उनलाई नै दोस्रोपटक पीडा दिने काम त भइरहेको छैन ?
न्याय भनेको दोषीलाई सजाय दिनु मात्र होइन, पीडितको मर्यादा र सुरक्षाको रक्षा गर्नु पनि हो । थापा पोलिक्लिनिक घटनामा अहिले प्रहरी अनुसन्धान जारी छ । आरोपको अन्तिम सत्यता अनुसन्धान र कानुनी प्रक्रियाबाटै टुंगिनेछ। तर अनुसन्धानको निष्कर्ष आउनुअघि नै सामाजिक सञ्जालमा फैलिएको भिडियोले एउटा पाठ भने सिकाएको छ । संवेदनशील घटना सार्वजनिक गर्दा सत्यतथ्यसँगै संवेदनशीलता पनि आवश्यक हुन्छ । गलत काम लुकाउनु हुँदैन । तर गलत कामको विरोध गर्ने क्रममा अर्को गलत काम पनि हुनु हुँदैन । घटना सार्वजनिक गरौँ, प्रमाण सार्वजनिक गरौँ, अन्यायविरुद्ध आवाज उठाऔँ तर पीडितको अनुहार, पहिचान र भविष्य सार्वजनिक नगरौँ ।
