कोहलपुर, असोज २०,
बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा भएको विवादसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रकरणमा सहारा टिभीका सञ्चालक हिमांशु शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शाहीलाई कोहलपुरस्थित एनटिभी रोडबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनासम्बन्धी अनुसन्धानकै क्रममा शाहीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि कोहलपुर–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी एक युवतीले स्वास्थ्य परीक्षणका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएकी थिइन् ।
जाहेरी परेपछि प्रहरीले पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । यही क्रममा पोलिक्लिनिकभित्र थापा र युवतीबीच भनाभन तथा हातपात भएको देखिने भिडियो सहारा टिभी एचडी अनलाइनमार्फत सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि अनुसन्धानको निष्कर्ष आउनुअघि नै घटनामा संलग्न भनिएका पक्षको दृश्य सार्वजनिक गरिएको भन्दै गोपनीयता तथा संवेदनशील घटनाको सञ्चारसम्बन्धी विषयमा प्रश्न उठेको थियो ।
प्रहरीले अहिले घटनासँग सम्बन्धित सबै पक्षमाथि अनुसन्धान अघि बढाइरहेको जनाएको छ। युवतीले लगाएको आरोप तथा भिडियोमा देखिएका घटनाका विषयमा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
