कोहलपुर, मंसिर ८,
नेपाली कला, संस्कृति तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा आगामी मंसिर ११ गते कोहलपुर खुला मञ्चमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड तथा फिरन्ते ब्यान्ड र भाका नेपाल ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारी र समता थापाले गर्नेछन् । आयोजक संस्थाका अध्यक्ष प्रशान्त सुनारका अनुसार सुरताल म्युजिकल टुरको मुख्य उद्देश्य नेपाली संगीतलाई देशका विभिन्न भूगोल, समुदाय र दर्शकमाझ पुर्याउनुका साथै स्थानीय स्तरमा सक्रिय सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नु हो ।
उनले यो टुर मनोरञ्जनमा मात्र सीमित नभई नेपाली कलाकार, संगीत र सिर्जनालाई देशव्यापी रूपमा जोड्ने अभियानसमेत भएको बताए । देशका सातै प्रदेशमा सांगीतिक कार्यक्रममार्फत नेपाली संगीतको पहिचान र पहुँच विस्तार गर्ने लक्ष्य आयोजकले लिएको छ । कार्यक्रमको टिकट इसेवामार्फत उपलब्ध हुने जनाइएको छ । दर्शकले ३०० रुपैयाँमा टिकट खरिद गरी तीनवटै सांगीतिक प्रस्तुति हेर्न सक्ने आयोजकले जनाएको छ भने ५ सय मा दुईवटा टिकट लिन मिल्नेछ ।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जानकारी दिएको छ। प्रेस विज्ञप्तिमा कोहलपुरको कार्यक्रम मंसिर ११ गते हुने उल्लेख छ।

