काठमाडौं, १५ असोज,
संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पौडेलले नेपाल बहुजाती, बहुभाषि र संस्कृति लगायतमा धनी भएकोले ती कुराहरूको संरक्षण र प्रबर्द्धनमा आफुले सक्दो पहल गर्ने बताएका छन् ।
विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा साँस्कृतिक मंच नेपालको आयोजनामा शुक्रवार काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभुषामा विविधता रहेको बताउँदै उनले लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने साँस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नु पर्ने बताए । उनले त्यसका लागि आगामी दिनमा मन्त्रालयले यथेष्ट बजेटको व्यवस्था गर्ने समेत बताए ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीहरूले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका अध्यक्ष गणेश रिमालले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले, संस्कृति बिना कुनै पनि कुराको विकास सम्भव नहुने भएकाले पनि यस्ता खाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुने र अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडी बढाउन सकिने सम्भावनाका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बझाङ र दार्चुलामा प्रचलित हुड्केउली छलिया नाँच र भारीखेल, सोलुखुम्बु जिल्लामा नाँचिने सुलिङ सामा राइलो तोशी नाँच, जाजरकोटको चर्चित खाँडो नाँच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाँच, रूकुम पश्चिमको सिंगारू नाँच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाँच, धादिङको पुन समुदायमा प्रचलित म्हेन्दोमाया नाँच, रोल्पा जिल्लाको एकदमै चर्चित पैंसेरी नाँच, मधेस प्रदेशमा प्रचलित होरि नाँचको प्रस्तुति रहेको थियो ।