कोहलपुर, असोज १८,
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले दुईवटा कृतिहरूको एक कार्यक्रम बीच विमोचन गरेका छन् ।
सर्वदा साहित्य संगमद्वारा नेपालगन्जमा आयोजित एक समारोहमा ढकालले दुई जना साहित्यकारका दुई कृति विमोचन गरेका हुन् । युवा कवि भीम प्रज्वलको कविता कृति “कैयौं एकहरू“ र ८८ वर्षीय लेखक श्री भुपेन्द्र प्रकाश बास्तोलाको आख्यान कृति “चिरफार“ नामक दुई कृतिहरू विमोचन भएका ढकालले गरे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले विमोचन कृतिहरूका बारेमा मन्तव्य राख्दै पछिल्लो समय कृति प्रकाशन गर्नेहरूको सङ्ख्या तिब्र गतिमा वृद्धि भएको छ यो राम्रो कुरा हो तर कतिपय कृतिहरू पाठकहरूको हातमा पुग्न नपाउँदै हराउने गरेकोले फरक विषयवस्तु र फरक धारमा समातेर लेख्नु पर्ने चुनौती लेखकहरूसङ्ग रहेको बताएका छन् । प्राज्ञ ढकालले साहित्यिक सृजनाहरूमा माटोको सुगन्ध आउनु पर्ने बताउँदै अन्यत्र कम पाइने र बाँकेमा भेट्टिने घसियार, पत्थरकट्टा र चिडीमारका कथाहरू अझै पनि कम लेखिएकोले यी विषयहरूमा लमम चलाउन आग्रह गरे ।
विमोचन कृतिमाथि समीक्षकहरू के.आर. ओली, श्रीमती मीना बराल र श्री राजकुमार थारूले समिक्षात्मक टिप्पणी गर्दै समग्रतामा पछिल्लो समय विमोचित कृतिहरू आसा लाग्दा भएको भए पनि स्तरीय सृजनाका लागि लेखकहरूमा अध्ययन र अभ्यास हुनुपर्ने बताए । सोही समारोहमा सल्यानका कवि श्री बुद्धिप्रसाद रेग्मी, नेपालगन्जका बुद्धिजीवी प्रा.डा. जनार्दन आचार्य र सुर्खेतका लेखक श्री दलजीत रसाइलीलाई प्राज्ञ ढकालले दोसल्ला र प्रमाणपत्रद्वारा “सर्वदा साहित्य सम्मान“ ले सम्मान गरे ।
सम्मानित व्यक्तित्वको कृतित्वको बारे सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले प्रकाश पारेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य श्री शशिराम कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जीतबहादुर शाह, प्रवेश शाह, गोल्डेन उद्भास, खेम बगर, इन्दिरा अधिकारी र दीपक आचार्य “जलन“ समेतका कविहरूले आफ्ना रचना पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा पाँच दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।